सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
पूर्व प्रधानमन्त्री ओलीको पक्राउ विरूद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
साथै पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै उनकी पत्नी यशोदाले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओली र लेखकविरूद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
मुलुकी अपराध संहिताको २०७४को दफा १८१ र १८२ अनुसार अनुसन्धान गर्न सिफारिस गरेको थियो। त्यसको आधारमा शुक्रबार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यसलगत्तै प्रहरीले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंले आइतबार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।




प्रतिक्रिया दिनुहोस्