बालेन सरकार बनेपछि दुई दिनमै ११९ अंकले घट्यो शेयर बजारमा

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछिको शेयर बजारमा उच्च पहिरो चलेको छ । नयाँ सरकार गठनपछि खुलेको पहिलो दुई दिनको कारोबारमा नेप्से सूचक झण्डै ११९ अंकले घटेको छ। आइतबार ७१.०५ अंकले घटेको नेप्से सोमबार ४७.७१ अंकले ओरालो लागेको छ । 

सोमबार नेप्से परिसूचक घटेर २८३१.३९ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४७.७१ अंकले घटेको छ।यस दिन सेन्सेटिभ इण्डेक्स ७.९० अंक, फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले घटेको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ। यसबाहेक वित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानीजीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकम पनि घटेको छ। सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ। अघिल्लो कारोबार दिन आइतबार १५ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिए पनि पहिलो दिनको कारोबारबाटै त्यसको विपरीत असर देखिएको हो। दुई तिहाइ नजिकको बहुमतसहित सरकार बनेपछि राजनीतिक स्थिरताको आशामा बजारमा उछाल आउन सक्ने अनुमान गरिएको थियो। तर, सोमबार पनि बजारको उच्च गिरावटले निरन्तरता पाएको छ ।

बजार बढ्ने अपेक्षामा सेयर फुकुवा (अनप्लेज्ड) गरेर बसेका लगानीकर्ताले अपेक्षा अनुसार उछाल नआएपछि ठूलो परिमाणमा बिक्री बढाउँदा बजारमा दबाब परेको जानकारहरु बताउँछन् ।

गिरावटको अर्को कारणका रूपमा सरकारको १०० बुँदे कार्यसूचीअन्तर्गत ‘बुँदा नम्बर ४५’ पनि चर्चामा आएको छ। उक्त बुँदामा नेपाल राष्ट्र बैंकमार्फत बैंक खाता, डिजिटल वालेट, सेयर लगानीलगायत वित्तीय गतिविधि समेट्ने ‘एकीकृत डिजिटल सम्पत्ति लगत’ स्थापना गर्ने उल्लेख छ।

लगानीकर्तामा यसले सेयर कारोबारमा कडाइ बढ्ने हो कि भन्ने संशय देखिएको छ । तर जानकारहरूका अनुसार यो पूर्णतः नयाँ व्यवस्था होइन। बैंकिङ प्रणालीमार्फत हुने सेयर कारोबारमा विगतदेखि नै निगरानी रहने गरेको छ र राष्ट्र बैंकले शंकास्पद कारोबार ट्र्याक गर्ने अभ्यास अघि बढाइसकेको छ । 

त्यसैगरी, पछिल्ला राजनीतिक घटनाक्रम र पक्राउ कारबाहीका कारण बजार मनोविज्ञानमा समेत केही नकारात्मक प्रभाव परेको जानकारहरू बताउँछन्। समग्रमा, बजारमा देखिएको गिरावट अल्पकालीन मनोवैज्ञानिक दबाब, राजनीतिक अनिश्चितता र प्राविधिक कारणहरूको संयुक्त प्रभावका रुपमा विश्लेषण गरिएको छ। 

सोमबार ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यी कम्पनी हुन्: रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने सोलु हाइड्रोपावरको शेयर मूल्य ७.७९ प्रतिशतले सर्वाधिक घटेको छ।

कारोबार रकमको आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयर कारोबार ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँ बराबर भएको छ। त्यस्तै, ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको शेयर कारोबार करिब ४४ करोड रुपैयाँ र अपि पावर कम्पनीको कारोबार साढे ३८ करोड रुपैयाँ नाघेको छ।

null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार