धनगढी: धनगढी उपमहानगरपालिकाले महिलाको स्वास्थ्य सुरक्षा सुदृढ बनाउन प्रजनन स्वास्थ्य एकीकृत रोग नियन्त्रण कार्यक्रम अन्तर्गत HPV DNA Test विधिद्वारा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षण शिविर सञ्चालन गरेको छ।
२०८२ साल चैत्र १५ गतेबाट सुरु भएको यस अभियानअन्तर्गत, हिजो वडा नम्बर ७, बेलीमा आयोजित शिविरमा १६९ महिलाले सेवा लिएका छन्। महिलाहरूको उल्लेखनीय सहभागिताले स्वास्थ्यकर्मीहरूलाई पनि उत्साहित बनाएको छ।
स्वास्थ्यकर्मीहरूले भने, HPV DNA विधि आधुनिक, भरपर्दो र प्रभावकारी भएकाले नियमित परीक्षणमार्फत क्यान्सरको जोखिम कम गर्न सकिन्छ। आगामी दिनमा यसरी अन्य वडाहरूमा पनि शिविर सञ्चालन गरिनेछ।
कार्यतालिकाअनुसार:
- चैत्र १६ – वडा ११, फूलबारी स्वास्थ्य चौकी
- चैत्र १७ – वडा ८, आधारभूत स्वास्थ्य सेवा केन्द्र
- चैत्र २० – वडा ३
- चैत्र २२ – वडा ४
- चैत्र २३ – वडा १३, शहरी स्वास्थ्य केन्द्र, कैलालीगाउँ
- चैत्र २५ – वडा ५
- चैत्र २६ – वडा ६, शहरी स्वास्थ्य केन्द्र, मटियारी
कार्यक्रमले ३० वर्षदेखि माथिका, महिनावारी बन्द नभएका, ५ वर्षमा HPV DNA परीक्षण नगरेका वा पोजिटिभ नतिजा भएका महिलालाई लक्षित गरेको छ।
नगर प्रमुख गोपाल हमालले महिलालाई निःशुल्क परीक्षण सेवा लिन आग्रह गर्दै, समयमै परीक्षण गराएमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने बताए।
धनगढी उपमहानगरपालिकाले सम्बन्धित वडामा बसोबास गर्ने योग्य सबै महिलालाई आफूलाई अनुकूल हुने शिविरमा उपस्थित भएर सेवा लिन आग्रह गरेको छ। यो कार्यक्रम विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।




प्रतिक्रिया दिनुहोस्