बालेनले ‘समय आउनेछ’ भनेका थिए- अन्तत: आयो, अनि पक्राउ परिन् रेखा शर्मा

नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी रेखा शर्मा बालिकालाई घरेलु कामदारका रूपमा यातना दिएको आरोपमा पक्राउ परेकी छन् । १४ वर्षीया नाबालिकालाई घरमै ६ वर्षदेखि शोषण गरेको शर्मामाथि आरोप छ ।

दाङकी शर्मा दलित कोटाबाट लुम्बिनी प्रदेशसभामा एमालेकी समानुपातिक सांसद हुन् । दाङ तुलसीपुर निवासी शर्मा प्राय: काठमाडौं धुम्बाराहीस्थित घरमा बस्दै आएकी थिइन् ।

सांसद शर्मालाई डेढ वर्षअघि १४ वर्षीया बालिकालाई श्रमिक बनाई राखेको र दुर्व्यवहार गर्ने गरेको आरोप लागेको थियो । उनलाई बालबालिकासम्बन्धी कसुरमा अपराध अनुसन्धानको टोलीले आइतबार राति काठमाडौंबाट पक्राउ गरेको हो । हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सांसद शर्माविरुद्ध महानगरपालिकाले उजुरी दिएको थियो ।

डेढ वर्षअघि काठमाडौं महानगरपालिकाले सांसद शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो । सांसद शर्माले बालिकालाई कुटपिट र यातना दिएको खबर पाएपछि उद्धार गरी काठमाडौं महानगरपालिकाले आफ्नो संरक्षणमा राखेको थियो । त्यससँगै महानगरले बालबालिकासम्बन्धी कसुरमा सांसद शर्माविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो ।

प्रहरीमा जाहेरी परेपछि शर्माले आफूलाई प्रहरीले धरपकड गर्न सक्ने भन्दै उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् । जसमा काठमाडौं प्रहरी परिसरसँगै काठमाडौं महानगरपालिका, तत्कालीन प्रमुख (मेयर) बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई पनि विपक्षी बनाइएको थियो । रिट परेको भोलिपल्ट शर्मालाई पक्राउ नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख एवं हालका प्रधानमन्त्री बालेन्द्र शाहले ‘सरी नानु ! तिम्रा पीडकहरूका विरुद्ध मुद्दा नचल्ने बनाएछ सरकारले, नआत्तिनु समय आउनेछ । यस्तै विभेद र अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै नानीबाबुले पढ्नुपर्छ, समाज बुझ्नुपर्छ’ भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेका थिए ।

दाङको एक न्यून आर्थिक अवस्था भएकी बालिकालाई सांसद शर्माले पढाइदिने भन्दै अत्यधिक काममा लगाउने र यातनासमेत दिने गरेकी थिइन् ।

नाबालकलाई घरेलु श्रमिकका रूपमा काम गराएमा ३ महिना कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै, जबरजस्ती काममा लगाएमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

अधिवक्ता महेन्द्र पाण्डेले घरेलु कामदारका रूपमा नाबालकलाई राख्ने कुरा कानुनले निषेध गरेको बताए । उनका अनुसार यस्ता कार्यलाई कानुनले दण्डनीय पनि बनाएको छ । ‘सार्वजनिक ओहोदामा बसेको मान्छेले त्यस्तो काम गर्दा अझै नकारात्मक सन्देश जान्छ । यस्ता कुरा गर्न नहुने हाम्रो पहिलेदेखिकै कानुन थियो,’ उनले भने, ‘कानुन र अभ्यासमा हाम्रो कमजोरी छ । यो काम दण्डनीय हो ।’

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले सांसद शर्मा पक्राउ परेपछि पद निलम्बन हुने बताए । उनी काठमाडौंमा बस्दै आए पनि सभा हुने समयमा संसद्मा प्राय: उपस्थित हुने गरेको सचिव पुनको भनाइ छ । बालिकाले आफूलाई लाठी, पाइप र हातले शरीरमा कुटपिट गर्ने गरेको उद्धारपछि महानगरको टोलीसँग बताएकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार