नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चार वटा समिति गठन गर्ने निर्णय गरेको छ।
उपसभापति पुष्पा भुसालको नेतृत्वमा संविधान संशोधन अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय कांग्रेसले गरेको हो।
‘नेपाली कांग्रेसको नेतृत्वमा ऐतिहासिक संविधानसभामार्फत बनेको संघीय लोतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको हो। संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले नागरिकको भावनाअनुसार समयानुकूल संशोधन र अद्यावधिक हुँदै जानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ, ‘संविधानका आधारभूत मूल्य-मान्यता, संघीय शासन प्रणाली, नागरिक अधिकार र स्वतन्त्रता तथा समानुपातिक समावेशी सिद्धान्तलाई संकुचित हुन नदिई, त्यसलाई अझै फराकिलो र विस्तारित बनाउँदै नेपाली जनताको अपनत्व र स्वामित्व थप वृद्धि गर्न तथा सुशासन र प्रभावकारी सेवा प्रवाहको लागि कतिपय विषयमा संविधान संशोधन र तद अनुकुल कानून निर्माण गर्नु आवश्यक छ भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ।’
संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय-सुझाव दिनका लागि पार्टी उपसभापति भुसालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
‘यस समितिले सबै प्रदेश, सबै क्षेत्र र तह, समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउनेछ र त्यस अनुरूप पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञहरू, राजनीतिक दलहरू सहित राष्ट्रिय संवादको पहलकदमी लिनेछ,’ निर्णयमा उल्लेख छ।
साथै १५ औं महाधिवेशनमा पार्टीका सवै तह र निकायका पदाधिकारी एवं सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि केन्द्रीय निर्वाचन समिति गठन गर्ने कांग्रेसको निर्णय छ।
नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिबक्ता प्रेमबहादुर खड्का निर्वाचन समिति संयोजक भएका छन्।निर्वाचन समितिमा रहने चार जना सदस्यको नाम चयन गरी नियुक्ति गर्ने अधिकार सभापति गगन थापालाई दिने निर्णय केन्द्रीय समितिले गरेको छ।
नेपाली जनसम्पर्क समितिहरूको विधानको एकरुपता र अधिवेशनको सुनिश्चितताका लागि विभिन्न देशको जनसम्पर्क समितिको सदस्यता, अधिवेशन, विधान र गतिविधि लगायतको अध्ययन गरी दश दिनभित्र सुझाव पेस गर्न सहमहामन्त्री उदय शमशेर राणाको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय पनि भएको छ।
केन्द्रीय लेखा समतिको संयोजकमा भरतकुमार शाह नियुक्त भएका छन्।
केन्द्रीय लेखा समितिमा विषय विज्ञाको आधारमा रहने चार जना सदस्यको नाम चयन गरी नियुक्ति गर्ने अधिकार सभापति गगन थापालाई दिने निर्णय केन्द्रीय समितिको छ।




प्रतिक्रिया दिनुहोस्