लम्की अस्पताल स्तरोन्नति विवाद: प्रदेश–स्थानीय तहबीच असमझदारी

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको १५ शय्याको लम्की अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया विवादमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभावले अस्पतालको स्तरोन्नति कार्य अन्योलमा परेको हो।

प्रदेश सरकारले अस्पताल आफ्नो मातहत लिन खोज्दा स्थानीय तह असन्तुष्ट बनेको देखिन्छ। नगरप्रमुख सुशीला शाहीले प्रदेशको कार्यशैलीप्रति आपत्ति जनाउँदै औपचारिक पत्राचार नगरी ह्वाट्सएपमार्फत सम्झौताका लागि बोलाउनु गैरजिम्मेवार कदम भएको बताएकी छन्। उनले कर्मचारीलाई हस्ताक्षरका लागि बोलाउनु र स्थानीय लगानी तथा कर्मचारी व्यवस्थापनबारे स्पष्ट योजना नल्याउनुमा पनि चिन्ता व्यक्त गरेकी छन्।

हाल अस्पतालमा ८१ जना कर्मचारी कार्यरत छन् र नगरपालिकाले वार्षिक ७–८ करोड रुपैयाँ खर्च गर्दै आएको छ। कर्मचारी तलबमै करिब ३ करोड खर्च भइरहेको छ। बजेट व्यवस्थापन नपुगेसम्म खर्च नगरपालिकाले बेहोर्ने प्रस्तावले विवाद थप बढाएको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भने, कानुनी प्रक्रिया अनुसार अस्पताललाई प्रदेश मातहत ल्याइएको दाबी गर्दै कुनै कर्मचारीको रोजगारीमा असर नपर्ने आश्वासन दिएका छन्। उनका अनुसार दीर्घकालीन व्यवस्थापनमा प्रदेश प्रतिबद्ध छ र नगरपालिकाकै सिफारिसअनुसार प्रक्रिया अघि बढाइएको हो।

प्रदेश र संघीय सरकारको निर्णयपछि अस्पताल सञ्चालनको जिम्मा प्रदेशमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको भए पनि दुई तहका सरकारबीच असमझदारी र प्रतिष्ठाको टकरावले सेवा विस्तारमा असर पर्ने चिन्ता बढेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार