कैलालीको अत्तरियामा “शिवशक्ति बाबा”को नाममा सञ्चालन गरिएको आयुर्वेदिक उपचार शिविर अन्ततः प्रशासनले बन्द गराएको छ। विभिन्न रोग निको पार्ने दाबी गर्दै नमस्ते होटलमा शनिबारदेखि सुरु भएको उक्त शिविर मंगलबार बिहानै रोकिएको हो।
शुरुवातमा निःशुल्क उपचारको प्रचार गरिएको यो शिविरमा पछि बिरामीसँग शुल्क लिन थालिएको भन्दै स्थानीयबाट प्रशासनमा गुनासो पुगेको थियो। सोही आधारमा अनुगमन गर्दा शिविर सञ्चालनका लागि आवश्यक अनुमति पत्र नै नभएको खुलेपछि बन्द गराउने निर्णय गरिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार आयोजक पक्षलाई यसअघि नै अनुमति बिना कार्यक्रम सञ्चालन नगर्न चेतावनी दिइएको थियो। तर निर्देशनको बेवास्ता गर्दै शिविर जारी राखिएपछि अन्ततः कडाइका साथ रोक लगाइएको हो।
प्रशासनले शिविरमा औषधिको अत्यधिक मूल्य असुल गरिएको र प्रवेश शुल्कसमेत लिइएको गुनासोसमेत आएको जनाएको छ। उपचारको नाममा ठूलो भीड जम्मा हुने गरेको यो शिविर चैत १४ गतेसम्म सञ्चालन गर्ने योजना भए पनि बीचमै बन्द गर्नुपरेको हो।
यसअघि पनि “शिवशक्ति बाबा”ले कैलालीकै सुक्खड क्षेत्रमा यस्तै प्रकृतिको शिविर सञ्चालन गरेको जानकारी प्राप्त भएको छ।




प्रतिक्रिया दिनुहोस्