बैतडी जिल्ला अस्पतालमा पहिलोपटक हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रिया सेवा सुरु गरिएको छ। दोगडाकेदार गाउँपालिका–३ का एक पुरुषको घुँडामुनिको दुवै हड्डीमा सानो चिराबाट सफल शल्यक्रिया गरिएसँगै यस्तो सेवा उपलब्ध हुन थालेको हो।
क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ प्रविधिबाट गरिएको उक्त शल्यक्रिया यहाँका लागि नयाँ अभ्यास भएको चिकित्सक अरविन्द जोशीले बताए। उनका अनुसार अब यस किसिमका जटिल शल्यक्रियाका लागि बिरामीले बाहिर जानु नपर्ने भएको छ।
यसअघि यहाँ रड प्रयोग गरेर मात्रै शल्यक्रिया गरिँदै आएको थियो। तर अब सानो चिराबाट आधुनिक प्रविधिमार्फत उपचार सम्भव भएको चिकित्सकहरूको भनाइ छ। उक्त शल्यक्रियामा हाडजोर्नी विशेषज्ञ डा दीपेन्द्र भण्डारी र जनरल फिजिसियन डा जोशीसहितको टोली संलग्न थियो।
अस्पतालमा यो सेवा सुरु भएसँगै बिरामीहरूले कम खर्चमै जिल्लामै उपचार पाउने अपेक्षा गरिएको छ। हाल जिल्ला अस्पताल बैतडीमा चार विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत छन्।




प्रतिक्रिया दिनुहोस्