८ चैत, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई नि:शुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा नि:शुल्क खानेपानी धारा जडान गरेको हो ।
बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताए ।
अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै नि:शुल्क धारा जडान गरिएको बताए ।
खानेपानीका धारा सञ्चालनमा आएपछि कलुवापुर बजार क्षेत्रमा पानी किनेर खानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन् । बजारमा दैनिक रूपमा आउने सर्वसाधारण, सवारी चालक, यात्रु तथा व्यापारीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ । गर्मीको समयमा अझ बढी आवश्यक पर्ने खानेपानी अब सहज रूपमा उपलब्ध भएपछि सर्वसाधारण खुसी भएका छन् । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले यसअघि पनि बजार क्षेत्रमा सरसफाइ, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ । रासस




प्रतिक्रिया दिनुहोस्