ब्यालेट विद्रोह र जन भरोसाको सरकार

-डिल्लीराज भट्ट

परिवर्तनको अपेक्षासहित यो नेपाली राजनीतिमा जनताले ‘ब्यालेट विद्रोह’ गरेको समय हो। दशकौंदेखि पूराना दलको वरिपरि घुमिरहेको राजनीति र उनीहरूको राजनीतिक आडम्बर एतिबेला खोसिएको छ। अझ अर्को अर्थमा भन्नुपर्दा त्यो आडम्बर गर्ल्याम्म ढलेको छ। यो ‘ब्यालेट विद्रोह’ जनताको परिवर्तनको हुटहुटी हो। शासनशैली पुनर्संरचनाको माग हो।

मतपेटिकाबाट व्यक्त भएको सन्देशले जनता अब भाषण र शासन मात्र होइन,परिणाममुखी काम खोजिरहेका छन् भन्ने प्रष्ट सन्देश दिएको छ। परम्परागत शक्ति संरचनामा रहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको काँधबाट खोसिएर अब परिवर्तनको जिम्मेवारी रवि लामिछाने र बालेन जस्ता युवाको काँधमा आइपुगेको छ। जनता पहिले-पहिले दल हेरेर मतदान गर्थे, यसपटक उनीहरूले व्यक्तिको भरोसा हेरेका छन्। ती व्यक्ति भनेका रवि र बालेन हुन्। जसरी जनताले रवि र बालेनलाई विश्वास गरेर मतदान गरे अब त्यसरी नै रवि-बालेनले पनि जनताले प्रत्येक्ष महशुस गर्नेगरि सुशासन, दिगो विकास र समृद्धिका लागि अहोरात्र काम गर्नुपर्ने छ।

जनताको दैनिकीसँग प्रत्येक्ष जोडिएको क्षेत्र सार्वजनीक सेवा प्रवाह हो। त्यो वर्षौंदेखि पुरातन सोचबाट जकडिएर बसेको छ। सार्वजनिक सेवामा रहेको पूरानो पुस्ता प्रविधिसँग अभ्यस्त छैन, नवीन सोचलाई ग्रहण गर्न हिचकिचाउँछ। त्यसैले सेवा प्रवाहमा आमुल सुधार ल्याउनु पनि वर्तमान सरकारको प्रधान विषय बन्नुपर्छ। सिंहदरबारबाट नै सार्वजनिक सेवा सुधारको काम गर्नुपर्ने छ। डिजिटल प्रणालीको विस्तार, डिजिटल र प्रविधिमैत्री शिक्षाको विस्तार, दूरदराजसम्म औषधि र स्वास्थ्यकर्मी, आर्थिक अनुशासन र अवसर निर्माणमा सरकारले गम्भीर रुपमा काम गर्नुपर्ने छ। बेरोजगारीको चाप, महँगीको मार, शिक्षा र स्वास्थ्य सेवामा असमान पहुँच तथा विकासको असन्तुलित वितरणले नागरिक राज्यबाट विभेद भएको महशुस गरिरहेका छन्। यो विभेद चिर्न सरकारले समान अवसर नीति अवलम्बन गर्नुपर्छ।

युवापुस्तामा देखिएको निराशा र विदेश पलायनको प्रवृत्तिले राज्यप्रतिको भरोसा खस्किँदो छ। यो निराशालाई आसामा परिणत गर्ने आकृति युवाहरूले रवि-बालेको अनुहारमा देखिरहेका छन्। युवाको त्यो आसालाई सरकारले मुर्त आकृति दिन सकोस्।

जनताले रास्वपाबाट काम कार्यान्वयनमा दृढता, निर्णयमा पारदर्शिता र परिणाममा स्पष्टता खोजेका छन्। नेपालको राजनीतिक परिवेश लामो समयदेखि अस्थिरता, सत्ता-संघर्ष र वाचा–व्यवहारबीचको दूरीबीचमा रुमलिँदै आएको थियो। तर, यसपटक जनताले त्यो अस्थिरतालाई चिरिदिएका छन्। र, रास्वपालाई १८२ सिटका साथ बहुमत नजिकको शक्तिशाली बनाइदिएका छन्। अब रास्वपाले राम्रा निर्णय गर्न अरु दलको मुख ताक्नुपर्ने छैन। त्यसैले सरकारले चुनावी अभियानका क्रममा प्रस्तुत गरेका नारा, प्रतिबद्धता र सुधारका वाचा व्यवहारत: कार्यान्वयन गर्नुपर्छ। शासन सुधार र सुशासन, डिजिटल सार्वजनिक सेवा, भ्रष्टाचार नियन्त्रण, उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, कर सुधार, डिजिटल नेपाल, ऊर्जा लक्ष्य, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सुधार जस्ता विषय रास्वपाले चुनावी घोषणापत्रमा समेटेको थियो। भूमि अधिकार तथा असहाय समुदायलाई प्राथमिकता, प्रवास सम्बन्धी अधिकार, दलित, अल्पसंख्यक र पिछडिएको उत्थान, आर्थिक र प्रतिव्यक्ति आय वृद्धि जस्ता विषय समेटेको रास्वपाले वाचा अनुसार काम गरोस् भन्ने आम जनताको शुभेच्छा रहेको छ। 

संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा पूरानो संघीय गणराज्य हो। यहाँ ५० राज्य छन्, प्रत्येक राज्यको आफ्नै संविधान, सरकार र न्यायपालिका छन्। संघीयता सफल हुनुको मुख्य कारण भनेको राज्य र केन्द्रबीच स्पष्ट शक्ति विभाजन हो

जनताले सम्मानजनक शासन, जवाफदेही नेतृत्व र न्यायपूर्ण प्रणाली चाहेका छन्। आजको नागरिक सचेत छ। सूचनामा पहुँच राख्छ र सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको छ। त्यसैले, सरकारका लागि काम गरेको देखिनु मात्र पर्याप्त हुने छैन, कामको परिणाम देखिनु अनिवार्य हुने छ। नयाँ सरकारले पारदर्शिता र जवाफदेहिता, निर्णय प्रक्रियामा खुलापन, नीतिगत स्पष्टता र कार्यान्वयनमा दृढता देखाउन सकोस्।  सबै क्षेत्रमा एकैचोटि काम गर्ने प्रयासभन्दा केही मुख्य क्षेत्रमा प्रभावकारी सुधार ल्याउनु बढी उपयुक्त हुन्छ। त्यसैले सरकारले नवीन रणनीतिका साथ काम गरोस्। जनताले तीन तहका सरकार हुँदा पनि सुशासनको अनुभूति गर्न सकेका छैनन्।

संघीयता नेपालका लागि बोझिलो भयो भन्ने जनगुनासो ठूलो छ। संविधानले संघीयता लागू गरे पनि व्यवहारमा यसको प्रभावकारीता, चुस्तता र जनमैत्रीपनमा जनताको प्रश्न छ। रास्वपाले संघीयता केवल संरचना वा तहहरूको वितरण मात्र नभइ जनता र सरकारबीचको विश्वास तथा जवाफदेहिताको प्रणाली रहेको बताउँदै आएको छ। त्यसैले संघीयताको सफल अभ्यास गर्दै तीनै तहका सरकारलाई चुस्त, जवाफदेही र अधिकार सम्पन्न बनाउन पनि वर्तमान सरकारले रणनीतिक काम गर्नुपर्ने छ।

संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा पूरानो संघीय गणराज्य हो। यहाँ ५० राज्य छन्, प्रत्येक राज्यको आफ्नै संविधान, सरकार र न्यायपालिका छन्। संघीयता सफल हुनुको मुख्य कारण भनेको राज्य र केन्द्रबीच स्पष्ट शक्ति विभाजन हो। अमेरिकामा संघीय सरकारले केवल विदेश नीति, राष्ट्रिय सुरक्षा र मुद्रा नीति नियन्त्रण गर्छ। त्यहाँ राज्यहरूलाई आफ्नै बजेट, शिक्षा, स्वास्थ्य र कानुन निर्माणको अधिकार छ। यसरी राज्यहरूलाई स्वतन्त्रता दिँदा उनीहरूले स्थानीय आवश्यकताअनुसार नवप्रवर्तन र नीति सुधार गर्न सक्छन्।

अमेरिकी अनुभवले देखाउँछ कि संघीयता तब मात्र सफल हुन्छ जब स्थानीय अधिकार र केन्द्रको नियन्त्रणबीच सन्तुलन कायम रहन्छ। जर्मनी पनि सफल संघीयता भएको मुलुक हो। त्यहाँ आर्थिक समानता, स्थानीय सहभागिता, कानुनी स्पष्टताले संघीयता सफल छ। स्विट्जरल्याण्डमा विश्वकै सबैभन्दा जनमैत्री र सहभागी संघीयताको हो। त्यहाँ प्रत्यक्ष लोकतन्त्र र साझा जिम्मेवारी सफल संघीय संरचनाका कारक हुन्। तर, नेपालको संघीयतामा थुप्रै विषयमा अन्यौलता छ। विश्वका सफल मुलुकको संघीयतालाई हेरेर नेपालले पनि सफल संघीय प्रणाली अवलम्बन गर्नुपर्छ। त्यसैले ‘ब्यालेट विद्रोह’को सम्मान गर्दै अब बन्ने सरकारले जनताको भरोसा जित्न सकोस्, शुभकामना।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार