नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी सभापति गगनकुमार थापाको ससुरा भनेर गरिने टिप्पणीप्रति आक्रोश पोखेका छन् । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित उनले अर्जुननरसिंह केसी पहिले कि गगन थापाको ससुरा पहिले भन्दै प्रश्न गरे ।
पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन मुख्यालय सानेपा पुगेका उनले विगतदेखिको आफ्नो राजनीतिक यात्राको स्मरण गरे ।
उनले जेलनेलसहित आफूले नेपाली राजनीतिमा छुट्टै पहिचान बनाएको बताए । २०१८ सालमा आफूले भोगेको जेलजीवनको कथा पनि उनले सुनाए ।
उनले पार्टी कार्यालय परिसरमा भेला भएका सञ्चारकर्मीसँग आक्रोश पोख्दै उनले भने, ‘तपाईंहरू मध्ये नै कतिपयले पार्टी सभापतिले ससुरालाई सांसद बनाउन लाग्यो भनेर लेख्नुभयो । अझै लेख्नुहोला । के म गगन थापाको ससुरा भएर अर्जुननरसिंह केसी भएको हो ? पार्टीमा मेरो कुनै योगदान नै छैन ?’
उनले गगन थापा आफ्नै व्यक्तित्वले र आफू आफ्नै संघर्षले पार्टीमा स्थापित भएको पनि दावी गरे । पार्टीको लागि ६/७ वर्ष जेलजीवन भोगेको उनले स्मरण गरे ।
गगन थापासँग नाम जोडिएर आउने टिक्का टिप्पणीमाथि खरो उत्रिएका केसीले थापाको राजीनामा बारे आफू केही नबोल्ने बताए । उनले यो विषय पार्टीको केन्द्रीय समिति बैठकले नै टुंग्याउने बताए।




प्रतिक्रिया दिनुहोस्