नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केही केन्द्रीय सदस्यहरूले समेत घण्टी चिन्हमा मतदान गरेको रिपोर्ट प्राप्त भएको बताएका छन्। बिहीबार जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उनले उक्त रिपोर्टका आधारमा घण्टीमा भोट दिने केन्द्रीय सदस्यहरूलाई कारबाही गर्दै पार्टी पुनर्गठनको अभियान सुरु गर्ने बताए।
उनले चुनावी समीक्षासम्बन्धी प्रतिवेदनहरू आउने क्रम जारी रहेको पनि जानकारी दिए। साथै, अब पार्टी कमिटीहरूलाई चुस्त र प्रभावकारी बनाइने उनले उल्लेख गरे। रास्वपाले धेरै मत प्राप्त गर्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पक्षहरूको भूमिका रहेको पनि उनले बताए।
उनले भने, ‘झन्डै ५० प्रतिशतले घण्टीमा भोट हाले भन्ने रिपोर्ट छ। सबभन्दा बढी तपाईँहरूको जनवर्गीय सङ्गठनको केन्द्रीय नेताहरूले नै घण्टीमा भोट हालेछन्। केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईँहरूको जनवर्गीय सङ्गठनको केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्, कसले भोट हालेनन्, कसले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईँहरूले दिनैपर्यो हामीलाई। तिनलाई कारबाही गर्नैपर्छ, नत्रभने पार्टी बनाउन सकिँदैन। हामीले भनेका छौँ ठोस प्रमाणसहित ल्याउनुस्, को कोले हालेन, कोको घण्टीतिर गएको देखियो। तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौँ। पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो। नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो। निर्वाचन परिणाम पछिको सुझाव, आलोचना पार्टीको सचिवालय वा पार्टीको सबभन्दा आधिकारिक संस्थागत निर्णय गर्ने ठाउँमा प्रस्ताव बनाएर लान्छौँ। विकास गरेर हुने होइन रहेछ, पैसा टन्नै खर्च गरेसी जितिहालिन्छ भन्यो भने विनोद चौधरीले जित्नुपर्थ्यो नि, विनोद चौधरी पनि हार्या छ। सङ्गठन व्यवस्थित बनाएर, पत्रपत्रिका, प्रचार सबै राम्रो गरेर जनताको चित्त बुझाएर हुन्थ्यो भने भक्तपुरमा नारायणमान बिजुक्छेले हार्या छ। ४० वर्षसम्म राज गरेको ठाउँमा अहिलेको आँधीहुरीले त्यसलाई पनि बढारिदियो।’




प्रतिक्रिया दिनुहोस्