सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि चिकित्सक अभावको समस्या रहँदै आएको छ। सरकारी रूपमा पठाइएका चिकित्सकसमेत टिक्न नसक्ने अवस्थाका कारण प्रदेशका रेफरल अस्पतालहरूमा समेत विशेषज्ञ डाक्टरको अभाव देखिएको छ।
यही समस्या समाधान गर्ने उद्देश्यले प्रदेश सरकारले प्रत्येक वर्ष नौ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै चिकित्सा शास्त्र संकायअन्तर्गत एमबीबीएस अध्ययन गराउँदै आएको छ। यस कार्यक्रमअन्तर्गत हालसम्म ५३ जना विद्यार्थी अध्ययनरत रहेका छन्, जसमा २७ छात्र र आठ छात्रा रहेका छन्। उनीहरू देशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययन गरिरहेका छन्।
प्रदेश सरकारले एमबीबीएस अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आएको छ। अध्ययन पूरा गरेपछि उनीहरूले अनिवार्य रूपमा दुई वर्ष प्रदेशभित्रै सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ। पहिलो ब्याचका नौ जना विद्यार्थी आगामी असार महिनादेखि प्रदेशका स्वास्थ्य संस्थामा सेवा दिन आउने भएका छन्।
२०७८ सालमा सुरु गरिएको यस छात्रवृत्ति कार्यक्रममा कैलाली, अछाम, डडेलधुरा, दार्चुला, डोटी, बझाङ, बैतडी र बाजुराका विद्यार्थीहरू छनोट भएका थिए। विद्यार्थीहरूले आर्थिक अभावका कारण पूरा हुन नसकेको डाक्टर बन्ने सपना प्रदेश सरकारको सहयोगले साकार भएको बताएका छन्।
छात्रवृत्ति प्राप्त गर्नका लागि चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने र सुदूरपश्चिम प्रदेशमै स्थायी बसोबास भएको हुनुपर्ने मापदण्ड तय गरिएको छ। साथै, शैक्षिक पृष्ठभूमि र प्राप्ताङ्कका आधारमा पनि मूल्यांकन गरिन्छ। प्रारम्भिक चरणमा समावेशी कोटा व्यवस्था नभए पनि पछिल्ला ब्याचहरूमा समावेशी प्रणाली लागू गरिएको छ।
हाल अध्ययनरत विद्यार्थीहरूमध्ये कैलालीबाट सबैभन्दा बढी १३ जना रहेका छन् भने बझाङबाट ११ जना, दार्चुलाबाट आठ जना, कञ्चनपुरबाट सात जना, डोटीबाट चार जना, अछामबाट तीन जना, बाजुरा, बैतडी र डडेलधुराबाट क्रमशः विद्यार्थीहरू सहभागी छन्।
प्रदेश सरकारको यो पहलले भविष्यमा सुदूरपश्चिमका दुर्गम क्षेत्रहरूमा पनि चिकित्सक अभाव घटाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्