काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदलाई मन्त्री नबनाउने तयारी गरेको छ । रास्वपाका शीर्ष नेताहरुबीच समानुपातिक सांसदलाई मन्त्री नबनाउने सैद्धान्तिक सहमति भइसकेको पार्टीको उच्च स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ५७ गरी १ सय ८२ सिट जितेको रास्वपाले नयाँ सरकार गठनको गृहकार्य गरिरहेको छ ।
रास्वपामा यसअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ ।
बालेन नेतृत्वको मन्त्रिपरिषदमा विषयगत विज्ञताका आधारमा मन्त्री चयन गर्ने रास्वपाले यसअघि नै बताइसकेको छ । रास्वपाले एकल सरकार बनाउने भएपछि रास्वपाका केही सांसदहरु मन्त्री बन्ने ‘लबिइङ’मा लागेका छन् । आफू मन्त्री बन्नकै लागि केही सांसदहरुले मिडिया ट्रायल समेत गर्न थालेको चर्चा रास्वपाभित्रै हुन थालेको छ ।
रास्वपा सभापति रवि लामिछानेले हिजो नवनिर्वाचित सांसदहरुको अभिमूखीकरणमा पनि केही सांसदहरुले मन्त्री बन्न दौडधुप गरेको संकेत गरेका थिए ।
रास्वपामा प्रत्यक्षतर्फबाट नै शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थतन्त्र, परराष्ट्र, जनस्वास्थ्य, कानुन लगायत थुप्रै क्षेत्रका विज्ञ निर्वाचित भएका छन् । समानुपातिकतर्फ पनि केही विज्ञ निर्वाचित भएका छन् ।
सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित पार्टीका केही उच्च नेताहरुले परिणाम दिन सक्ने व्यक्तिहरुलाई मन्त्री बनाउने गरी गृहकार्य गरिरहेका छन् । केही नाममा नेताहरुका बीचमा सहमति भइसकेको र केही नाममा छलफल चलिरहेको उच्च स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले आज समानुपातिक तर्फबाट निर्वाचित सबै १ सय १० सांसदलाई प्रमाणपत्र प्रदान गरिसकेको छ । आजै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी छ ।
त्यसैगरी चैत १२ गते नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने र १५ गते संसदको पहिलो बैठक आह्वान गर्ने संसद सचिवालयको तयारी छ । सांसदहरुको शपथपछि नयाँ सरकार बनाउने रास्वपाको तयारी छ ।




प्रतिक्रिया दिनुहोस्