काठमाडौँ — पश्चिम एसियामा जारी तनावको असर नेपाली भान्सामा पनि पर्न थालेको छ । युद्धकै कारण विश्व बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले सोमबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा तरकारी, खाद्यान्न मात्र नभएर ढुवानीदेखि उत्पादन लागतसमेत वृद्धि भई यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको हो ।
विश्वभर इन्धन संकट र मूल्यवृद्धि भइरहेका बेला निगमले पेट्रोलमा प्रतिलिटर १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार भारतीय आयल निगम (आईओसी) बाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । यद्यपि आईओसीले पठाएको नयाँ दर कायम नगरी बिक्री गर्दा केही रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी मूल्य तोकिएको उनले जानकारी दिए । पछिल्लो मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थको आयात र आपूर्तिमा निगमको एकाधिकार छ । पेट्रोलियम पदार्थको मूल्य निर्धारण निगम सञ्चालक समितिले गर्छ । समितिको अध्यक्षमा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव रहने व्यवस्था छ । भारतीय आयल निगमले पठाएको मूल्यका आधारमा समितिले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य तोक्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्