- मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी छन् र महिला अधिकार तथा स्वदेशी उत्पादन प्रवर्द्धनमा काम गर्ने बताएकी छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चारकर्मी रीमा विश्वकर्मालाई दलित महिला क्लस्टरबाट समानुपातिक सांसदको रूपमा सिफारिस गरेको छ, जो सामाजिक र राजनीतिक विषयमा सक्रिय छिन्।
- हिपहप कलाकार बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएर व्यवस्थापन सुधार र शहरी अनुशासन कायम गर्ने काम थालेका छन्।
२ चैत, काठमाडौं । कीर्तिपुरस्थित लेब्रोटरी स्कुलको घाँसे मैदानमा पाल टाँगेर ‘मिस नेपाल २०१९’ आयोजना गरिएको थियो । प्रतियोगिताको निर्णायकमध्ये एक थिइन्– पूर्वनिर्वाचन आयुक्त इला शर्मा ।
उपाधिको नजिक पुगेका चार प्रतिस्पर्धीलाई इलाले प्रश्न सोधेकी थिइन्, ‘यदि हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दियौँ भने संसार अझ राम्रो बन्न सक्छ भन्ने कुरा कत्तिको सही हो ?’
अन्तिम चार प्रतिस्पर्धीमा अनुष्का श्रेष्ठ, रिया बस्नेत, प्रदिप्ता अधिकारी र मीरा कक्षपति थिए । चारैजनाले आ–आफ्नो धारणा व्यक्त गरे ।
अनुष्काको उत्तर थियो– अधिकार र जिम्मेवारी एउटै सिक्काका दुई पाटा हुन् । यदि हामीले आफ्ना जिम्मेवारी पूरा गर्यौं भने संसार आफैं सुन्दर बन्न सक्छ ।’
यही स्पष्ट र तार्किक उत्तरपछि अनुष्का ‘मिस नेपाल वर्ल्ड २०१९’ घोषित भइन् ।
मिस नेपाल जितेकी अनुष्का अहिले नीति निर्माण गर्ने देशको सर्वोच्च थलो प्रतिनिधिसभाकी सदस्य बनेकी छन् । अर्थात्, मिस नेपालबाट सांसद बन्ने पहिलो विजेताका रूपमा उनको नाम जोडिएको छ ।
‘ब्रेन विथ ब्युटी’ अवधारणामा विश्वास गर्ने अनुष्काले फाइनल चरणमा उत्तर दिँदा सायद सोचेकी थिइनन्– जीवनको कुनै मोडमा पुगेर आफूले भनेजस्तै अधिकार र जिम्मेवारीको सन्तुलन मिलाउनु पर्ने भूमिकामा पुगिन्छ भनेर ।
अहिले उनी सांसदका रूपमा त्यही जिम्मेवारी निर्वाह गर्ने ठाउँमा पुगेकी छन् । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आदिवासी जनजाति महिला क्लस्टरबाट उनलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ ।
अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा ‘ब्युटी विथ पर्पस’ र ‘मल्टिमिडिया’ अवार्ड जितेकी थिइन् । त्यसपछि उनको परिचय सफल महिला उद्यमीका रूपमा पनि स्थापित भयो ।
स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने काममा सक्रिय अनुष्का दक्षिण एसियाका उत्कृष्ट १० महिला उद्यमीमध्ये एक घोषित भएकी थिइन् ।
सन् २०२० मा उनले स्थापना गरेको डेजर्ट चकलेट ब्रान्ड ‘माकुसी’ ले उनलाई यो उपलब्धि दिलाएको थियो । ‘इन द क्याप’ म्यागजिनले तयार पारेको सूचीमा उनी तेस्रो स्थानमा थिइन् । यसबाहेक उनी काठमाडौं महानगरपालिकाको सल्लाहकारका रूपमा स्वयंसेवी भूमिकामा पनि काम गरिसकेकी छन् ।
अनुष्काले अनलाइनखबरसँग खुसी साट्दै संसदमा आफू मुख्यतः दुई विषयमा केन्द्रित भएर काम गर्न चाहेको बताइन् ।
पहिलो, स्वदेशी उत्पादन र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रयास । दोस्रो, महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा काम ।
उनले भनिन्, ‘मिस नेपाल मेरो लागि एउटा माध्यम थियो । त्यतिबेलादेखि नै म स्वदेशी उत्पादनलाई लिएर उत्साहित थिएँ । त्यसपछि माकुसी ब्रान्ड स्थापना गरेँ । अब युवा महिला नीति–निर्माताको रूपमा काम गर्नेछु । नेता भनेको जनताको प्रतिबिम्ब हुनुपर्छ ।’
अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएकी अनुष्का धेरै युवाका लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत पनि बनेकी छन् । उनी रनवे मोडलका रूपमा विभिन्न फेसन शोमा शो–स्टपरका रूपमा पनि देखिएकी छन् ।
हक्की रीमाको संसद् यात्रा
सञ्चारकर्मबाट करिअर सुरु गरेकी रीमा विश्वकर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलित महिला क्लस्टरबाट प्रतिनिधिसभाको सांसदको रुपमा सिफारिस गरेको छ ।
बर्दियाको गुलरियाकी रीमाले कक्षा ७ मा पढ्दा नै नेपाली टेलिश्रृंखला ‘जाँदाजाँदै’ सञ्चालन गरेकी थिइन् । त्यसपछि उनले विभिन्न टेलिभिजन च्यानलमा सञ्चारकर्मीका रूपमा काम गरिन् ।
रीमा सञ्चारकर्मी मात्र होइनन्, उनी अभिनेत्री, मोडल र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् । राजनीतिमा आउनुअघि उनले गायन रियालिटी शो ‘नेपाल आइडल’ पनि सञ्चालन गरेकी थिइन् ।
सुरूमा उनी कुलमान घिसिङ नेतृत्वको दल उज्यालो नेपाल पार्टीबाट समानुपातिक उम्मेदवार थिइन् । उक्त पार्टी रास्वपामा एकीकृत भयो तर १२ दिनमै फेरि छुट्टियो ।
उज्यालो नेपाल छुट्टिएर गए पनि उनी रास्वपामै बसिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा सक्रिय भइन् र प्रचारप्रसारमा पनि देखिइन् ।
सन् २०११ मा ‘स्वर’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी रीमाले त्यसपछि ‘दश घण्टा’, ‘भिसा गर्ल’, ‘ऋतु’, ‘इस्केप’, ‘भाले फाइट’, ‘बाटो मुनिको फूल २’, ‘मिस्टर नेपाली’ र ‘हिजोआजका कुरा’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।
उनी सामाजिक र राजनीतिक विषयमा खुलेर बोल्ने कलाकारका रूपमा चिनिन्छिन् । समसामयिक राजनीति र सामाजिक मुद्दामा उनले सामाजिक सञ्जालमार्फत धारणा राख्दै आएकी थिइन् ।
हक्की स्वभावकी रीमा पछिल्लो समय टेलिभिजन कार्यक्रमहरूमा बढी सक्रिय थिइन् । केही फिल्मको तयारीमा समेत जुटेकी थिइन् । तर समयले उनलाई अर्को भूमिकामा ल्यायो ।
कलाकारका रूपमा राजनीति र समाजलाई प्रश्न सोध्दै आएकी रीमा अहिले त्यही प्रश्नको उत्तर दिनुपर्ने स्थानमा पुगेकी छन् ।
नेपहपका बालेन प्रधानमन्त्रीको बाटोमा
बालेन्द्र शाह अर्थात हिपहप संगीतका बालेन । अन्डरग्राउन्ड नेपहपको दुनियाँबाट उदाएका उनी अहिले मुलुकको आगामी प्रधानमन्त्री बन्ने बाटोमा छन् ।
प्रत्यक्षतर्फ झापा ५ को चुनावी प्रतिस्पर्धामा उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतको फराकिलो मतान्तरले हराए ।
संगीत र सामाजिक चेतनालाई जोड्दै आफ्नो पहिचान बनाएका बालेन काठमाडौं महानगरका पूर्वमेयर पनि हुन् । काठमाडौंमा जन्मिएका बालेनले प्रारम्भिक चिनारी भने र्याप संगीतबाट बनाए ।
इन्जिनियरिङ अध्ययन गरेका उनले युवाको आवाज, सामाजिक असमानता, भ्रष्टाचार र राजनीतिक विकृतिबारे बोल्ने गीतमार्फत लोकप्रियता पाए ।
उनका गीतहरूमा प्रखर शब्द, सामाजिक आलोचना र यथार्थवादी दृष्टिकोण । यही कारण उनका गीत युवामाझ निकै लोकप्रिय भए ।
र्याप संगीतमा सक्रिय हुँदा उनले नेपाली समाजका समस्या, युवाको निराशा, प्रणालीप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनालाई शब्दमा उतारे ।
उनका गीतहरूमा व्यंग्य, प्रतिवाद र सचेतनाको स्वर पाइन्छ । सामाजिक सञ्जाल र युट्युबमार्फत उनका धेरै गीत युवापुस्तामाझ फैलिएका थिए ।
संगीतमार्फत स्थापित भएको यही सार्वजनिक पहिचानले उनलाई राजनीतितर्फ ल्यायो । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए । परम्परागत राजनीतिक दलका बलिया उम्मेदवारहरूलाई पछि पार्दै उनले उल्लेखनीय मतसहित विजय हासिल गरे ।
मेयर बनेपछि बालेनले महानगरको व्यवस्थापन, सार्वजनिक सेवा सुधार, अव्यवस्थित संरचना हटाउने अभियान र शहरी अनुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिए । हिपहप कलाकारबाट जनप्रतिनिधिसम्मको बालेनको यात्राले अन्य सेलिब्रेटी र कलाकारको लागि प्रेरणाको कुरा हो ।
चुनाव जितेपछि जसरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बालेनलाई कभरेज गरिरहेका छन्, र्यापरको रुपमा उनको उदय र लोकप्रियतालाई दर्शाउँछ । २ महिनाअघि फिल्म ‘झरीपछिको इन्द्रेणी’ को लागि ओएसटी गीत ल्याएका बालेनका ३ गीत निकट भविष्यमा आउँदैछन् ।
निशा अधिकारी जो पराजित भइन्
चर्चित अभिनेत्री निशा अधिकारीले गतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् । उनले निकै न्यून मत प्राप्त गरिन् । चुनावी प्रचारप्रसारमा सक्रिय निशाले उम्मेदवार दिँदै अनलाइनखबरसँगको कुराकानीमा अबको १० वर्ष आफूले देशको लागि समय दिने बताएकी थिइन् ।
उनले महिलाका सामाजिक मुद्दालाई चुनावी एजेन्डा बनाउँदै राजनीतिको मैदानमा डेब्यू गरेकी थिइन् । निशा उक्त दलकी केन्द्रीय सदस्य पनि हुन् । ‘मिसन पैसा’बाट फिल्म करिअर थालेकी निशा संचारकर्मी पनि हुन् । चुनाव लगत्तै उनी ‘कस्तुरी’ फिल्मको छायांकनमा ब्यस्त छिन् ।
प्रकाश सपुत, कोमल वली अटाएनन्
नेकपा एमालेले गायिका कोमल वलीलाई समानुपातिक सांसदको रुपमा उठाएको थियो । यद्यपि, समानुपातिक सांसदको रुपमा उनी छनोट भइनन् । झन्डै दुई तिहाइ ल्याएको रास्वपाले संवैधानिक बाध्यताअनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिक सांसदको रुपमा निर्वाचित गर्नुपर्नेछ ।
रास्वपाको समानुपातिक सांसदका उम्मेदवारको सूचीमा गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेता तथा चिकित्सक रुपक विश्वकर्मा घिमिरे पनि थिए । यी दुबैजना कलाकार समानुपातिक सांसदको रुपमा छनोट हुन पाएनन् ।
आफू समानुपातिक सांसदमा नअट्ने निश्चित भएसँगै गायक सपुतले विदेशी कन्सर्टको घोषणा गरिसकेका छन् । ३१ मार्चमा आयरल्यान्डमा हुने चैते दशैं मेलामा सपुतले प्रस्तुति दिने तय भएको छ । उनी निर्वाचनको प्रचारप्रसारमा समेत सक्रिय थिए । गीत गाउँदै उनले मतदातालाई आकर्षित तुल्याउने प्रयत्न गरे ।
रीमा, प्रकाश र अनुष्काबाहेक रास्वपाले गायिका सत्यकला राई, टिभी होस्ट आसिफ शाह, गायिका त्रिशला गुरुङलाई पनि उठाएको थियो । समानुपातिक उम्मेदवारको अन्तिम सूचीमा यी तीन अटाएनन् ।




प्रतिक्रिया दिनुहोस्