वन्यजन्तुको अंग लुकाएको आरोपमा प्रहरीमाथि कारबाही सिफारिस, तीन महिनादेखि कार्यान्वयनमा ढिलाइ

धनगढी : कैलालीमा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको घटनामा मुद्दा कमजोर बनाउन भूमिका खेलेको आरोपमा केही प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको छ । तर छानबिन समितिले प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा पनि सिफारिसअनुसार कारबाही प्रक्रिया पूर्णरूपमा अघि नबढेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीले गत साउन ९ गते गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक तथा चित्तलको सिङ र खुट्टासहित स्थानीय २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरीलाई पक्राउ गरेको थियो। तर पक्राउ परेका व्यक्तिमाथि मुद्दा चलाउने क्रममा बरामद भएको चित्तलको सिङ र खुट्टा विवरणमा समावेश नगरिएको र गायब पारिएको आशंका उठेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको थियो।

छानबिनका क्रममा तत्कालीन अनुसन्धान अधिकृत तथा मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित केही प्रहरी कर्मचारीले बरामद वन्यजन्तुको अंग लुकाउने कार्यमा भूमिका खेलेको प्रारम्भिक निष्कर्ष निकालिएको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पहिलो चरणमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। तर उक्त समितिको प्रतिवेदन चित्तबुझ्दो नभएको भन्दै पुनः डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा दोस्रो छानबिन समिति गठन गरिएको थियो।

दोस्रो समितिले गत पुसको पहिलो साता प्रतिवेदन बुझाउँदै प्रहरी निरीक्षक भण्डारीसहितका केही प्रहरी कर्मचारीले बरामद वन्यजन्तुको अंग लुकाउने कार्यमा संलग्नता देखिएको उल्लेख गर्दै प्रहरी नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको थियो।

यद्यपि प्रतिवेदन बुझाइएको तीन महिना बितिसक्दा पनि सिफारिसअनुसार कारबाही कार्यान्वयन हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले निर्वाचनका कारण कारबाही प्रक्रियामा ढिलाइ भएको बताए। उनका अनुसार छानबिन समितिको सिफारिसअनुसार जिल्ला प्रहरी कार्यालय कैलालीलाई आवश्यक कारबाही गर्न निर्देशन दिइसकिएको छ र चाँडै प्रक्रिया अघि बढाइने छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले पनि निर्वाचनको व्यस्तताका कारण प्रक्रिया केही ढिलो भए पनि कारबाहीको तयारी अघि बढिसकेको जानकारी दिए। उनका अनुसार घटनामा मुछिएका प्रहरी निरीक्षक भण्डारीसहितका कर्मचारीसँग स्पष्टीकरण माग गरिएको छ र जवाफ प्राप्त भएपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ।

वन्यजन्तुको अंग लुकाएर मुद्दा कमजोर बनाएको आरोप लागेका प्रहरी निरीक्षक दानसिंह भण्डारी हाल इलाका प्रहरी कार्यालय साँफेबगरमा कार्यरत छन्। बन्दुक र वन्यजन्तुको अंगसहित दुई जना पक्राउ परेको घटनामा आर्थिक चलखेल भएको आशंकासहित भण्डारीविरुद्ध प्रहरी प्रधान कार्यालयमा बेनामे उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार प्रदेश प्रहरी कार्यालयले घटनाबारे विस्तृत छानबिन अघि बढाएको थियो।अनलाईन खबरबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार