काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक सांसदको नाम टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने बैठकले निर्णय गर्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यालयले निर्देशानुसार अनुरोध गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट सो पार्टीले जितेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए ।
उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुनसक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताए । कांग्रेसले २० जना समानुपातिक सांसद पाएको छ । जसमा खसआर्यबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही, अर्जुननरसिंह केसी बन्ने भएका छन् ।
आदिवासी जनजातिबाट निर्वाचित हुने ६ जनामा गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे छन् । मधेशीबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव, दलितबाट निर्वाचित हुने तीनजनामा हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली, थारूबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुन सांसद बन्ने भएका छन् ।




प्रतिक्रिया दिनुहोस्