कैलाली । बिहीबार सुदूरपश्चिम प्रदेश सभा सचिवालयले पदाधिकारी तथा सदस्यहरूको फागुन महिनाको पारिश्रमिक तथा सेवासुविधा उनीहरूको व्यक्तिगत खातामा हाल्यो । मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीबाहेक सभामुख उपसभामुख र सांसदहरूको ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५’ अनुसार पारिश्रमिक र सेवासुविधा संसद् सचिवालयले उनीहरूको खातामा हालेको हो ।
दीर्घ सोडारी निलम्बनमा परेका कारण र डा. तारा जोशीले राजीनामा दिएका कारण उनीहरूको सेवासुविधा निकासा भएन । त्यसबाहेक ३९ जनाको सेवासुविधा बापतको रकम पठाउँदा राजीनामा नदिएका र निलम्बनमा पनि नपरेका एक सांसदको पनि सेवासुविधा र पारिश्रमिक रोकिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसबाट निर्वाचित पूर्वमन्त्री प्रकाश देउवाको संसद् सचिवालयले यसपटक सेवासुविधा रोक्का गरेको हो । जेन्जी आन्दोलनपछि देउवा प्रदेश सभामा उपस्थित भएका छैनन् । उनीनिकट स्रोतका अनुसार उनी जेन्जी आन्दोलनपछि अमेरिका गएका थिए । अहिलेसम्म आएका छैनन् ।
राष्ट्रिय सभा निर्वाचन निर्वाचनमा भोट हाल्न नआएका देउवा प्रतिनिधि सभा निर्वाचनमा पनि मत दिन आएनन् । लामो समयदेखि संसदमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी संसद् सचिवालयलाई नभएको भन्दै उनको सेवा सुविधा र पारिश्रमिक रोक्का गरिएको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रत्येक महिना सांसदहरूले पाइरहेका मासिक पारिश्रमिक ५६ हजार ५ सय रुपैयाँ, धारा बिजुली २ हजार रुपैयाँ, टेलिफोन इन्टरनेट ३ हजार रुपैयाँ र अतिथि सत्कारबापतको ७ हजार रुपैयाँ रोक्का गरिएको सचिवालय स्रोतले जानकारी दिएको छ ।
जेठ ११ गतेदेखि सुरु प्रदेशसभाको छैटौँ अधिवेशनमा २५ वटा बैठक बसे । तीमध्ये उनी ८ दिन मात्रै उपस्थित भएका छन् ।
अमेरिकामा रहेको भनिएका देउवाबारे सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीलाई पनि कुनै जानकारी छैन ।
‘केही समयदेखि उहाँ सदनमा उपस्थित हुनुभएको छैन, अनुपस्थितिको कारणबारे पनि कुनै सूचना छैन,’ सभामुख भण्डारीले भने, ‘किन सदनमा उपस्थित नहुनुभएको हो भन्नेबारे हामीलाई कुनै जानकारी छैन ।’
प्रदेशसभालाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने व्यवस्था संविधानको १८० मा उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को धारा १९३ मा यो व्यवस्था उल्लेख गरिएको छ । जेन्जी आन्दोलनपछि अहिलेसम्म पनि बैठकमा उपस्थित भएका छैनन् । कहिले आउँछन् वा कहाँ छन् भन्ने बारे पनि प्रदेश सभा सचिवालय वा सभामुखलाई कुनै आधिकारिक जानकारी छैन ।
केही समयअघि देउवाले मुख्यमन्त्री बन्ने गृहकार्य थालेका थिए । रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि तत्कालीन नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले देउवालाई मुख्यमन्त्री बनाउने गरी पहल सुरु गरे । त्यसमा केही माओवादीका सांसदहरू पनि जुटेका थिए । अन्तिम अवस्थामा शेरबहादुर देउवा र आरजु राणाबाटै प्रकाश देउवाले ग्रिन सिग्नल पाएनन् ।
पार्टी सभापति रहेकै बेला ठूलोबुबाबाट मुख्यमन्त्री बन्न रोकिएपछि उनी रुष्ट बनेको कांग्रेस स्रोतको दाबी छ । भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनलगत्तै उनी अमेरिका प्रस्थान गरेका थिए । देउवाकी श्रीमती र सन्तान पनि अमेरिकामै छन् ।
‘उहाँको अनुपस्थितिलाई लिएर केही समय अघिबाटै प्रश्न उठिरहेको छ । लगातार १० बैठकसम्म उपस्थित हुनुभएन भने पद नै जान्छ उपस्थित हुनुभए छि पनि एकैपटक सेवा सुविधा पठाउन मिल्छ ’ सचिवालय स्रोतले भन्यो, ‘अब उहाँ नआउँदासम्म वा उहाँको बारे कुनै जानकारी नआउँदासम्म हामी पारिश्रमिक र सेवा सुविधा हाल्दैनौँ ।’




प्रतिक्रिया दिनुहोस्