मकवानपुरमा प्रहरीमाथि आक्रमण, आत्मरक्षाका लागि गोली चलाउँदा एकजना घाइते

२८ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण भएको छ ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार बेलुका करिब ९ बजेको समयमा घटनास्थलमा पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा एक्कासी तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको डिएसपी बोगटीले जनाए । आक्रमणबाट तामाङका दुवै हातमा चोट लागेको छ ।

प्रहरी सहायक निरीक्षक तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड फायर गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने अन्दाजी १९ वर्षीय सनिस तितुङलाई गोली लागेको छ । उनको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ । उपचारका लागि सिएमसी चुरेहिल अस्पताल, हेटौंडा ल्याइएका घाइते तितुङको स्वास्थ्य अवस्था मध्यम छ ।

यसैगरी, डिएसपी  बोगटीको कमाण्डमा खटिएको थप प्रहरी टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जना तथा गोली लागेका तितुङ विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरी जस्ता विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार