बागलुङमा नेकपासँग गठबन्धन गर्दा पनि जोगिएन राजमोको जमानत

२५ फागुन, बागलुङ । बागलुङलाई वामपन्थी शक्तिको गढ मानिन्थ्यो । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्र बहादुर केसी ब्राण्ड जस्तै बनेका थिए । तर पुराना मानक सबै यसपटकको निर्वाचन परिणामले भत्काइदिएको छ । बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार भारी मतान्तरसहित निर्वाचित हुँदा राजमोको जमानत जफत भएको छ ।

राजमो र नेपाल कम्युनिस्ट पार्टीले बागलुङका क्षेत्र नं. १ र २ मा तालमेल गरेर उम्मेदवारी दिएका थिए । क्षेत्र नं. १ मा राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई नेपाल कम्युनिस्ट पार्टीले सघाउने र क्षेत्र नम्बर २ मा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाउने निर्णय भएको थियो । दुई पार्टीबीच सहकार्य हुँदा पनि राजमोका उम्मेदवार कृष्ण अधिकारीको जमानत जोगिएन ।

चित्रबहादुरको विरासत जोगाउन भन्दै चुनावमा मैदानमा आएका कृष्ण प्रसाद अधिकारी चौथो स्थानमा रहे । उनको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।

कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था अनुसार बागलुङमा सदर भएको ४७ हजार ६१ मतमा अधिकारीले जमानत जोगाउन ४ हजार ७०६ मत ल्याउनुपर्ने थियो । तर अधिकारीको मत ४ हजार ५२१ मत मात्रै प्राप्त गरेकाले जमानत जफत भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुशिल खड्का २० हजार ९२७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ र एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० मत प्राप्त गरे । राजमोका अधिकारी लगायत ८ उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

बागलुङ क्षेत्र नम्बर १ मा ९८ हजार ४६ मतदाता रहेकामा ४८ हजार ९३२ मत खसेको थियो । त्यसमा १८७१ मत बदर भएका थिए ।

राप्रपाका कल्याण आचार्यले ५२३ मत, श्रम संस्कृति पार्टीका लालबहादुर घर्तिले २५४ मत, प्रलोपाका चित्र सापकोटाले ६० मत, मंगोल नेशनल अर्गनाइजेसनका गुमा कुमारी रानाले ४० मत, नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का टेक बहादुर केसीको ८० मत र नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विकले २४ मतमात्रै पाए । प्रलोपाका सापकोटाले अन्तिम समयमा उम्मेदवारी निष्कृय पारे पनि उनको पक्षमा ६० मत परेको थियो ।

यसैगरी बागलुङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोम शर्मा निर्वाचित भए । नेपाली कांग्रेसका टेकराज पौडेले ११ हजार ८६८ मत पाउँदै दोस्रो हुँदा राजमोसँग तालमेल गरेका नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरे १० हजार ७०९ मतसहित तेस्रो स्थानमा रहे ।

#ResultWithOK

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार