काठमाडौँ: रविन्द्र मिश्रले सक्रिय दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
मिश्रले आफ्नो निर्णय निराशा, हताशा वा हतारमा नभई लामो सोच–विचारपछि लिएको उल्लेख गरेका छन्। देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत देखिए पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी बारम्बार असफल भएको भन्दै त्यसको जिम्मेवारी आफूले पनि लिनुपर्ने बताएका छन्।
विज्ञप्तिमा उनले विचारभन्दा माथि देश रहेको उल्लेख गर्दै बदलिँदो भूराजनीति र कमजोर बन्दै गएको आन्तरिक अवस्थाबीच देश बचाउन तथा भावी पुस्ताका लागि बलियो आधार तयार गर्न नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

मिश्रले आजकै मितिबाट पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र अब तत्कालका लागि स्वतन्त्र रूपमा आफ्ना विचार र अडानहरू प्रस्तुत गर्दै जाने बताएका छन्। उनले राजसंस्था पुनर्स्थापना, सुशासनलगायतका मुद्दामा आफ्नो अडान यथावत रहने पनि स्पष्ट पारेका छन्।
.jpeg)
करिब ९ वर्ष लामो राजनीतिक यात्राको स्मरण गर्दै मिश्रले आफ्नो विवेक र क्षमताअनुसार देशको राजनीतिक तथा राष्ट्रिय रूपान्तरणका लागि इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना पनि दिएका छन्। साथै नेपाली राजनीति एकोहोरो बाटोमा नदौडियोस् भन्ने कामना व्यक्त गर्दै देशको हितलाई सर्वोपरि राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।




प्रतिक्रिया दिनुहोस्