धनगढी । आज (सोमबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । भोलीदेखि राजनीतिक दल र दलका उम्मेदवारहरुले कुनै पनि प्रकारको चुनावी प्रचार गर्न वा चुनावी अभियान चलाउने पाउने छैनन् ।
यहीबेला मौन अवधि सुरु हुनुअघि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार डा. आनन्द बहादुर चन्दले परिवर्तनका लागि यसपाली घण्टीमा भोट हाल्न अपिल गरेका छन् ।
‘अब मौन अवधि सुरु हुँदैछ । आचारसंहिताले अब मतदाताको घरघरमा गएर आफ्ना कुरा राख्न र प्रचार गर्न दिँदैन ।’, उनले भने, ‘त्यसैले सबै मतदातालाई यसपाली देश बनाउन र बदल्न घण्टीमा मतदान गर्न अपिल गर्छु ।’
लामो समय अध्यापनमा बिताएका, पिएचडी हासिल गरेका र नीतिगत तहमा काम गरेको अनुभव बोकेका चन्द आफूलाई ‘किताबे नेता’ नभएर ‘नीतिले काम गर्ने प्रतिनिधि’का रूपमा प्रस्तुत गरिरहेका छन् । विगतमा धेरैपटक अनुहार बदले पनि यसपटक सोच बदल्न पनि चन्दले आग्रह गरेका छन् ।
चन्दका अनुसार पुराना राजनीतिक अभ्यासले देशलाई स्थायित्व र पारदर्शिता दिन नसकेकै कारण अब वैकल्पिक शक्तिलाई मौका दिनुपर्ने समय आएको छ । जुन शक्ति रास्वपा भएको चन्दले बताएका छन् ।
कैलाली–५ मा चन्दले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारीसहित ‘सिस्टम सुधार’को एजेन्डा अघि सारेका छन् ।
वैदेशिक नीति निर्माणदेखि स्वदेशी निकायसम्मै कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका चन्दले आफ्नो चाहना जनपक्षीय नीति निर्माण गरी समृद्ध समाज निर्माण गर्नु भएको भन्दै समृद्ध नेपाल निर्माणका लागि घण्टीमा मतदान गर्न पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्