धनगढी । कैलाली-५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आलेले आफ्नो जीति निश्चित भएको दाबी गरेका छन् । उनले आफू आफ्नो जितप्रति पूर्ण रुपमा विश्वस्त रहेको बताएका हुन् ।
‘निर्वाचन हो प्रतिस्पर्धा हुन्छ, हुनु पनि पर्छ तर मेरो जित निश्चित छ ।’, आलेले भने, ‘जित्छु भन्ने म ढुक्क छु ।’
डोटीबाट तीन तीनपटक निर्वाचनमा सहज जीत हासिल गरेका आले अहिले कैलाली झरेका छन् । उम्मेदवारका रुपमा कैलाली-५ नयाँ भए पनि राजनीतिक रुपमा कैलाली-५ आफ्नो पकड क्षेत्र भएको आलेको दाबी छ ।
यसपाली आलेले कैलाली-५ मा सडक स्तरोन्नती, फाप्ला अन्तराष्ट्यि क्रिकेट रंगशाला निर्माण, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने, खानेपानीको दीगो व्यवस्थापन गर्ने, कृषि उत्पादनलाई बजारसँग जोड्ने तथा युवाका लागि रोजगारी सृजना गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।
स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै क्षेत्रको समग्र आर्थिक उन्नतिमा जोड दिने उनको प्रतिबद्धता छ ।
त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई पनि उनले प्राथमिक एजेण्डाका रूपमा अघि सारेका छन् । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षामा पहुँच विस्तार, स्वास्थ्य चौकीको स्तरोन्नति र विशेषज्ञ सेवाको पहुँच बढाउने योजना उनले सार्वजनिक गरेका छन् । पर्यटन प्रवद्र्धन र साना उद्यमलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने उनको लक्ष्य छ ।
आफूले विगतमा गरेका काम र जनतासँगको निरन्तर सम्पर्ककै कारण सकारात्मक प्रतिक्रिया पाइरहेको र यसपाली पनि आफ्नो जित निश्चित भएको आलेले दाबी गरे । उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै उनले अन्तिम समयसम्म सक्रिय रहन कार्यकर्तालाई आह्वान गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्