महेन्द्रनगरः रूपालबाट बसाइँ सरी कञ्चनपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका रूपाली समुदायले परम्परागत ‘रूपाली होली’लाई यस वर्ष पनि उत्साहका साथ निरन्तरता दिएका छन्।
फागु पूर्णिमाको तीन दिनअघि देखि सुरु भएको यो होली भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकालगायतका क्षेत्रमा मनाउन थालिएको छ। दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउँदै आएको रूपाली होलीको रौनक यसपटक पनि उल्लेख्य रहेको स्थानीय बताउँछन्।
भीमदत्त–१८ का लोकबहादुर ठकुराठीका अनुसार रूपाली समुदायले तराई झरेपछि पनि आफ्नो मौलिक संस्कृति जोगाउँदै आएको छ। ‘रूपालीहरूबीचको एकता र रङ्गीन पर्वसँग जोडिएको होलीका आफ्नै पम्परागत मान्यता छन्,’ उनले भने, ‘नयाँ पुस्ताले पनि यसलाई आत्मसात् गर्दै अघि बढेको छ।’

रूपाली होली धार्मिक मान्यतालाई कायम राख्दै पहाडिया शैलीमा देउडा भाकामा गीत गाउँदै मनाइन्छ। रूपाली होली समिति निम्बुखेडाका अध्यक्ष वासुदेव भट्टका अनुसार होलीमा सबै उमेर समूहका महिला–पुरुष तथा युवायुवती सहभागी भई गोलबद्ध भएर देउडा खेल्ने चलन छ। ‘मुलुक निर्वाचनमय भए पनि हाम्रो समुदाय होलीमय छ,’ उनले भने, ‘सबै उमेर समूह उत्साहका साथ सहभागी छन्।’
.jpeg)
रूपाली परम्पराअनुसार वर्ष एकादशीदेखि बैजनाथ मन्दिरबाट सुरु गरिएको होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगेर समापन गरिन्छ। निम्बुखेडाको शिव–गौरा मन्दिर र गोवरियास्थित बैजनाथ मन्दिरबाट एकसाथ होली प्रारम्भ गरिएको समितिले जनाएको छ। विभिन्न ठाउँमा रोजगारी र अन्य कारणले छरिएर बसेका रूपालवासी यही पर्वका अवसरमा भेला हुने भएकाले होलीलाई भेटघाटको पर्वका रूपमा पनि लिइन्छ।
होली खेलेर सङ्कलित रकम मन्दिर निर्माण तथा अन्य सामाजिक काममा खर्च गरिन्छ। ‘फगुवा’लाई प्रत्येक घरमा विशेष सम्मानका साथ भोजन गराउने चलन छ, विशेषगरी जसको घरमा विवाह वा सन्तान जन्मिएको हुन्छ।
रूपाली अगुवाका अनुसार विसं २०१७ सालदेखि तराईतर्फ बसाइँसराइ सुरु भए पनि सांस्कृतिक पहिचान भने जोगिँदै आएको छ। पुस्तौँदेखि मनाइँदै आएको यो पर्वले आध्यात्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको छ। रूपाली समाज होलीको संरक्षण र निरन्तरताका लागि सक्रिय रहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्