धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बैतडी जिल्लामा पार्टीको चुनावी अभियान तीव्र र उत्साहजनक रूपमा अघि बढिरहेको जनाएको छ। जिल्ला कमिटी बैतडीका अध्यक्ष नरेश कुमार विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीका उम्मेदवार दामोदर भण्डारी चौथो पटक निर्वाचित हुने वातावरण बनेको दाबी गरिएको छ।
विज्ञप्तिअनुसार बैतडीमा विगतमा सुरु गरिएका विकास निर्माणका कामहरू र अधुरा रहेका योजनाहरूलाई पूर्णता दिन भण्डारी नै सक्षम, अनुभवी र विश्वासिलो उम्मेदवार रहेको उल्लेख गरिएको छ। पार्टीले उनको दीर्घ राजनीतिक अनुभव, स्पष्ट दृष्टिकोण र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने क्षमताका कारण मतदातामा सकारात्मक विश्वास बढ्दै गएको दाबी गरेको छ।
एमालेले पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उम्मेदवारविरुद्ध फैलाइएका आरोपहरूलाई ‘भ्रामक, तथ्यहीन र कपोलकल्पित’ भन्दै अस्वीकार गरेको छ। विज्ञप्तिमा ती गतिविधि चुनाव नजिकिँदै जाँदा मतदातालाई भ्रमित पार्ने नियोजित प्रयास भएको उल्लेख गरिएको छ।
पार्टीले आरोप लगाउने पक्षलाई प्रमाणसहित आफ्ना दाबी पुष्टि गर्न खुला चुनौती दिएको छ। अन्यथा चुनावलाई प्रभावित पार्ने नियतले गरिएका लाञ्छना र मानहानीविरुद्ध कानुनी उपचार खोजिने चेतावनी दिइएको छ।

विज्ञप्तिको अन्त्यमा बैतडीका मतदातालाई संयमित, सचेत र जिम्मेवार भई सत्य–तथ्यको आधारमा निर्णय लिन आग्रह गरिएको छ। एमालेले चुनावी प्रतिस्पर्धा स्वस्थ र मर्यादित ढंगले अघि बढ्नुपर्नेमा जोड दिएको छ।
.jpeg)




प्रतिक्रिया दिनुहोस्