भरतपुर : चितवनमा शुक्रबार गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी कार्यक्रमका सहभागीको रोजाइ वरिष्ठ नेता बालेन्द्र शाह थिए। उनी पार्टी सभापति रवि लामिछानेको निर्वाचन प्रचारका लागि क्षेत्रमा पुगेका थिए। शाहले चुनावी सभालाई सम्बोधन गर्दै स्थानीय उत्पादनमा जोड दिए।
उनले स्थानीय उत्पादन र पर्यटन विकासमा आफ्नो धारणा राखे। स्थानीय थारू समुदायमा भएका होम स्टेहरूलाई प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै भने– ‘यहाँको उत्पादन यहाँको लुगा, यहाँको संगीत र यहाँको खानेकुरालार्ई उहाँहरूले कसरी विश्वमा चिनाउनु भएको छ, यो हेर्दा चितवनले देशलाई पर्यटन प्रवद्र्धन गर्न सिकाउनुपर्छ ।’ केही सीमित नेता र केही सीमित बिचौलियाको कारण किसानले मूल्य नपाएको उनको भनाइ थियो। ‘भारतमा अनुदानमा उत्पादित कृषि उपजले नेपालका किसान मारमा परेका छन्। यो रोक्न जरुरी छ ’ उनले भने, यस्ता समस्याको समाधान रास्वपाले गर्न सक्छ।’
उनले देशलाई हेटौंडा सिमेन्ट कारखानाजस्तो भएको टिप्पणी गरे। उनले कांग्रेसका नेता रहेका उद्योगपति विनोद चौधरीको वाइवाइ चाउचाउ जस्तै मुलुक पनि चल्नुपर्ने धारणा राखे। ‘हाम्रो देश हेटौंडा सिमेन्ट कारखानाजस्तो भएको छ, बन्द। मेसिन पनि छ। मेनपावर पनि छ। खानी पनि छ। तर बन्द। वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्यो,’ उनले भने।
उनले किसानको मुद्दालाई उठान गरेका थिए। तरकारीले मूल्य नपाएको र किसानले दूध पोख्न परेको विषयलाई उठान गरेका थिए। किसानको उत्पादनले मूल्य नपाएको पिडालाई उनले आफ्नो भाषणमा उठान गरेका थिए। आफ्नो मन्तव्यमा क्रममा दुवै नेताले स्थानीय विषयलाई चुनावी भाषणमा प्रयोग गरेका थिए। बालेनले पार्टीका केन्द्रीय सभापति उठेको निर्वाचन क्षेत्र भएकोले चिन्ता नगर्न आग्रह गरेका थिए।
रास्वपाका सभापति लामिछानेले पुराना दलबाट परिवर्तन नहुने भन्दै रास्वपाको पक्षमा मतदान गर्न आग्रह गरे। उनले पुराना दललाई सडकको प्रतिपक्षमा पुर्याउन आग्रह गरेका थिए। उनले पुराना दललाई कटाक्ष हानेका थिए। ‘तपाईंलाई अहिले पनि पुराना राजनैतिक दलले परिवर्तन गर्छन् भन्ने विश्वास छ भने सबै उतैतिर हाल्दिनुस् हामीलाई पर्दैन,’ उनले भने, ‘हामीले पाँच वर्षलाई मौका मागेका हौं। देशलाई समृद्धि तर्फ लैजान्छौं।’
मौन अवधि सुरु हुन तीन दिन बाँकी हुँदा रास्वपाले रविको निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गरेको हो। कार्यक्रममा बालेन, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले, चितवन १ का उम्मेदवार हरि ढकाल, चितवन ३ की उम्मेदवार सोबिता गौतमले आसन्न निर्वाचनका सन्दर्भमा पार्टीको एजेन्डा राखेका थिए। कार्यक्रममा लोकदोहोरी गायक प्रकाश सपूतले प्रस्तुति दिएका थिए।




प्रतिक्रिया दिनुहोस्