काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआउने बताएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन प्रणालीका कारण कुनै दलको पनि बहुमत नआउने बताएका हुन् ।
‘अहिले कुनै एक पार्टीको बहुमत आउने सम्भावना देखिएको छैन । निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने देखिँदैन । यस निर्वाचनमा हाम्रा साथीहरू एकताबद्ध भएर सहभागी भएका छन् । देशभर हाम्रो पार्टीको राम्रो माहौल बन्दै गएको छ’, उनले भने, ‘यस निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । अब एक हप्ता मेहनत गरेमा हाम्रो पार्टी राम्रो पोजिसनमा आउने देखिएको छ । नेकपा मात्र त्यस्तो पार्टी हो पार्टीभित्र समस्या देखिएको छैन । हामीले जिते मात्र राष्ट्रियता, गणतन्त्र र संविधान संशोधन सहज हुने देखेका छौँ ।’
प्रचण्डले अतिवादी प्रवृत्तिले निर्वाचन जितेमा देशले दुःख पाउने बताए । उनले भने– ‘हामी शान्ति प्रक्रियामा आएपछि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछि निर्वाचनमा जस्तो परिणाम आए पनि स्विकार्छौँ भनेका थियौँ । त्यतिबेला राम्रो परिणाम आएको थियो । अहिले हुन लागिएको निर्वाचनमा यही व्यवस्था र संविधानलाई स्विकारेर हुन लागेकाले जस्तोसुकै आए पनि स्विकार्नुपर्छ ।’




प्रतिक्रिया दिनुहोस्