डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुगरीका स्थायी बासिन्दा ओमप्रकाश भट्ट र उनकी श्रीमती टिकेश्वरी भट्ट जीविकोपार्जनका लागि डडेल्धुरा बजारमा मकै पोलेर बेच्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएकै कारण यस पटक उनीहरू दुवै म्यादी प्रहरीमा भर्ना भएका छन्।
हाल भट्ट दम्पती डडेल्धुरा बजार मा डेरा गरी बसोबास गर्दै आएका छन्। ओमप्रकाशका अनुसार उनी ८२ वर्षीया आमा, श्रीमती, १० वर्षीय छोरा र नर्सरीमा अध्ययनरत ६ वर्षीया छोरीसँगै बस्छन्। उनका बुवाको आर्थिक अभावका कारण समयमै राम्रो उपचार हुन नसक्दा पक्षाघातका कारण निधन भएको उनले बताए।
“म चैतदेखि असोजसम्म मकै बेच्छु, सिजन सकिएपछि बदाम ९मुम्फली० बेच्ने गर्छु,” उनले भने। यसका साथै वर्षभरि डडेल्धुरामा लाग्ने विभिन्न मेला तथा जात्रामा स्टल राखेर पनि आम्दानी गर्ने गरेको उनले जानकारी दिए।
आर्थिक कठिनाइका बीच पनि आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिलाई डाक्टर बनाउने सपना बोकेको भट्ट दम्पती म्यादी प्रहरीमा छनोट भएपछि केही राहत महसुस गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्