धनगढीः प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४, कैलालीका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लेखराज भट्ट ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
अत्तरियास्थित निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिकीकरण, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए। प्रतिबद्धता पत्रमा सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाको समग्र विकासका लागि विशेष योजना अघि सारिएको उल्लेख छ।
शिक्षा र स्वास्थ्यमा सुधारको योजना
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली र आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। शिक्षक तथा कर्मचारीको सेवा–सुविधा सुधार, पेशागत सुरक्षा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल पनि समावेश गरिएको छ।
स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिकमा विशेषज्ञ सेवा विस्तार, आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा जोड दिइने बताइएको छ। महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ।
कृषि, उद्योग र रोजगारीमा जोड
कृषि क्षेत्रमा आधुनिक प्रविधि, उन्नत बीउ, मल, यान्त्रिकीकरण, सिँचाइ सुविधा विस्तार, कृषि बीमा र कृषि आधारित उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। तरकारी, फलफूल र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धनका लागि शीत भण्डार र बजार व्यवस्थापनमा पहल गरिने उल्लेख छ।
औद्योगिकीकरणतर्फ औद्योगिक क्षेत्र विस्तार, औद्योगिक कोरिडोर विकास र सीपमूलक तालिम सञ्चालन गरी दलित, पिछडिएका तथा गरिबी रेखामुनि रहेका नागरिकलाई आत्मनिर्भर बनाउने योजना समेटिएको छ।
पर्यटन र पूर्वाधार विकास
धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनअन्तर्गत धार्मिक स्थल तथा सांस्कृतिक सम्पदाको संरक्षण, संग्रहालय स्थापना र होमस्टे प्रवर्द्धनमा जोड दिइने बताइएको छ। सडक, पुल, तटबन्ध, विद्युतीकरण र खानेपानी व्यवस्थापनजस्ता भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ।
भट्टले विकास, स्थायित्व र समृद्धिका लागि आफूलाई पुनः निर्वाचित गराउन मतदातासँग अपिल गर्दै सार्वजनिक प्रतिबद्धताहरू कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन्।




प्रतिक्रिया दिनुहोस्