कैलाली–२ मा सूर्यबहादुर थापाको ‘हरित समृद्धि अभियान’ घोषणा

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर २ का नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सूर्यबहादुर थापा ले ‘हरित समृद्धि अभियान’लाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

आइतबार सार्वजनिक गरिएको रोडम्यापमा आर्थिक रूपान्तरण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि सारिएको छ। थापाले स्मार्ट कृषि प्रणाली, ग्रामीण समृद्धि र वातावरणमैत्री उत्पादन प्रवर्द्धनमार्फत क्षेत्रको समग्र विकास गर्ने लक्ष्य लिएका छन्।

कृषि र रोजगारीमा विशेष जोड
कृषि व्यावसायीकरणका लागि राजाकाँडा फलफूल बगैँचा परियोजना सञ्चालन, सुन्तला, कागती, एभोकाडोजस्ता उच्च मूल्यका बालीको एकीकृत खेती विस्तार तथा जडीबुटी करिडोर स्थापना गर्ने योजना अघि सारिएको छ। उत्पादनसँगै संकलन, प्रशोधन र निर्यात संरचना विकास गरी आय वृद्धि गर्ने लक्ष्य राखिएको छ।

कृषि आधुनिकीकरणअन्तर्गत वैज्ञानिक तीनबाली प्रणाली, ड्रिप तथा स्प्रिंकलर सिंचाइ प्रविधि र हाई–टेक तरकारी जोन स्थापना गरिने उल्लेख छ। आगामी पाँच वर्षभित्र पाँच हजार रोजगारी सिर्जना गर्ने र २० हजार परिवारलाई आत्मनिर्भर बनाउने उनको प्रतिबद्धता छ।

शिक्षा, स्वास्थ्य र सामाजिक प्रतिबद्धता
सामुदायिक विद्यालयको स्तर सुधार गरी गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने योजना पनि समेटिएको छ। निर्वाचित भए राज्यबाट प्राप्त सेवा–सुविधा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा उनले गरेका छन्। युवालाई स्वदेशमै अवसर दिन सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

पूर्वाधार र पर्यटन विकास
सडक स्तरोन्नति, सिंचाइ विस्तार, खानेपानी समस्याको दीर्घकालीन समाधान तथा सुरक्षित आवास कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाइएको छ। आवश्यक स्थानमा पक्की तथा झोलुङ्गे पुल निर्माण र पालिकाबीच सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ।

चिसापानी–राजकाँडा केवलकार अभियानसँग जोडिएका थापाले सुदूरपश्चिमलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्। जलविहार केन्द्र स्थापना र पर्यटकीय पूर्वाधार निर्माणमार्फत हरित अर्थतन्त्रको आधार तयार गर्ने उनको विश्वास छ।

आर्थिक, सामाजिक, कृषि, पूर्वाधार, युवा तथा खेलकुद, वन–वातावरण, पर्यटन र सुशासन गरी आठ शीर्षकमा विभाजित प्रतिबद्धता पत्रमार्फत थापाले ‘हरित समृद्धि अभियान’ले कैलाली–२ को समग्र रूपान्तरण गर्ने दाबी गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार