बैतडीमा रोचक चुनावी भिडन्त: भण्डारी, चन्द र भट्टबीच कडा टक्कर!

धनगढीः बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला बहुचर्चित चुनावी प्रतिस्पर्धाको केन्द्र बनेको छ। दामोदर भण्डारी लगातार तीन पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् र यसपटक चौथो जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा छन्।

२०७९ सालको निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उनले ३३ हजार ६ सय ११ मतसहित विजय हासिल गरेका थिए।

यसअघि २०७० सालको दोस्रो संविधानसभा तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितिसकेका भण्डारी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। विकास र समृद्धिका स्पष्ट योजना अघि सारेको दाबी गर्दै उनी मत मागिरहेका छन्।

बैतडीमा चतरबहादुर चन्द काँग्रेसका तर्फबाट बलियो चुनौतीका रूपमा उभिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहेका चन्द शिक्षक पेशाबाट राजनीतिमा आएका हुन्।

२०४७ सालमा नेविसंघबाट राजनीति सुरु गरेका उनले शिक्षक संघ बैतडीको अध्यक्ष हुँदै काँग्रेस बैतडी सभापतिको जिम्मेवारीमा छन्। जिल्लाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउँदै एकपटक अवसर दिए जनहितमा काम गर्ने उनको प्रतिबद्धता छ।

त्यस्तै प्रमानन्द भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारका रूपमा पहिलोपटक प्रतिस्पर्धामा छन्। एमाले बैतडीका संस्थापकसमेत रहेका भट्ट पूर्व एकीकृत समाजवादीबाट आएका हुन्। विद्यार्थी राजनीतिमा दामोदर भण्डारीलाई नेतृत्व दिएका उनी अहिले उनै भण्डारीको विरासत तोड्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

सुशासन र समग्र विकास आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। भट्ट २०५४ मा जिल्ला विकास समितिको उपसभापति भएका थिए। तत्कालीन सभापति जयसिंह महताको मृत्यु भएपछि भट्टसँग कार्यवाहक सभापति भएर जिल्ला विकास समिति चलाएको अनुभव छ।

यस्तै, हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बनेका छन्। काँग्रेस पृष्ठभूमिका उनी यसअघि दुई पटक प्रदेशसभा निर्वाचनमा पराजित भइसकेका छन्। नयाँ सोच र नयाँ शक्तिका रूपमा जिल्लाको विकासका लागि आफू अघि बढेको उनको दाबी छ। रास्वपाको देशव्यापी लहरलाई अवसरको रुपमा उपयोग गर्ने रणनीतिमा भण्डारी छन्। उनले यो पटक चुनाव जित्ने दाबी गर्दै आएका छन्।

बैतडीमा भुपेन चन्द पनि प्रतिस्पर्धामा छन्। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। छोटो समयमै पढेलेखेका शालीन र भद्र उम्मेदवारको पहिचान बनाउन सफल चन्दलाई बैतडीका मतदाताले रुचाउन थालेका छन्।

उनले यो पटक स्वतन्त्र मतदाताको मत आफूतिर तान्ने बताइएको छ। बैतडीमा संगठनात्मक रुपले राप्रपाको उपस्थिति सबै वडामा भएकाले चन्दले चुनाव जित्ने राप्रपाका समर्थकहरूको दाबी छ।

२१ फागुनमा हुने निर्वाचनका लागि बैतडीमा कुल ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। कोही विरासत जोगाउने कसरतमा छन् भने कोही पुरानो राजनीतिक प्रभाव भत्काउने रणनीतिमा। बैतडीको चुनावी परिणामले यसपटक नयाँ सन्देश दिने कि पुरानै निरन्तरता कायम गर्ने भन्ने चासो व्यापक बनेको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार