कांग्रेस कैलाली – ४ का उम्मेदवार गोरख विष्टद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

अत्तरिया: नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कैलालीका प्रतिनिधि सभा उम्मेदवार गोरख बहादुर विष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार आयोजित एक कार्यक्रमका बिच उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । प्रतिबद्धता पत्रमा उनले राष्ट्रवाद, लोकतन्त्र र समाजवादका मूल्यमान्यतामा आधारित समावेशी विकास, सुशासन र सामाजिक न्याय आफ्नो प्राथमिकता रहने बताएका छन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विष्टले कैलाली क्षेत्र नम्बर ४ को भौगोलिक विकटता, बेरोजगारी, गरिबी, पूर्वाधार अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई सम्बोधन गर्ने स्पष्ट कार्य योजना रहेको बताए। उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबिच समन्वय, सहकार्य र सहभागितामार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

कृषि, पशुपालन तथा सहकारी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उनले आधुनिक कृषि प्रणाली, सिँचाइ विस्तार, मल–बीउको सहज आपूर्ति र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख गरे। कृषकलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणमा जोड्दै ग्रामीण अर्थतन्त्र मजबुत बनाइने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्न अनुदान, सहुलियत कर्जा र प्राविधिक तालिमको व्यवस्था गरिने प्रतिविद्धतामा समेटिएको छ। शिक्षा क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै उनले सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र विद्यालय–कलेजमा डिजिटल पूर्वाधार विकास गर्ने योजना अघि सारेका छन्।

प्रत्येक वडामा निःशुल्क वाई फाइ जोन, ई–लाइब्रेरी तथा डिजिटल सीप तालिम सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र विशेष सहयोग कार्यक्रम सञ्चालन गरिने उनले बताए।

स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य चौकी तथा अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार र विशेषज्ञ सेवाको पहुँच बढाउने योजना समेटिएको छ। ग्रामीण भेगमा नियमित स्वास्थ्य शिविर सञ्चालन र आपत्कालीन सेवाको सुदृढीकरणमा जोड दिइएको छ।

उद्योग, लगानी र रोजगारी सिर्जनालाई अर्को महत्त्वपूर्ण एजेन्डा बनाउँदै विष्टले स्थानीय स्रोत–साधनमा आधारित साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने उनले बताएका छन्। औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण सिर्जना र युवालाई स्वरोजगारीमुखी बनाउन सहुलियत कर्जा कार्यक्रम ल्याइने उनको प्रतिबद्धता छ। विदेश पलायन भएका युवाको सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण तयार पारिने उनले उल्लेख गरे।

सामाजिक न्याय र समावेशितालाई विशेष महत्त्व दिँदै दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, महिला, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने प्रतिविद्धतामा उल्लेख छ। श्रमिकको हक–हित संरक्षण, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सीमान्तकृत समुदायको सशक्तीकरणमा जोड दिइएको छ।

पूर्वाधार विकासतर्फ सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी तथा सरसफाइ विस्तार र विद्युत् सेवा सुदृढीकरण गर्ने योजना अघि सारिएको छ। उनले जल, जमिन र जंगलको संरक्षणलाई प्राथमिकता दिँदै वातावरणीय सन्तुलन कायम राख्ने कार्यक्रम सञ्चालन गरिने बताए। बढ्दो जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

सुशासन र पारदर्शितालाई आफ्नो कार्यशैलीको आधार बनाउने प्रतिबद्धता जनाउँदै विष्टले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने बताए। नागरिकको प्रत्यक्ष सहभागितामा नीति निर्माण, सार्वजनिक सुनुवाइ र उत्तरदायित्व प्रणाली सुदृढ गरिने उनको भनाइ छ। विकास योजनाको प्रभावकारी अनुगमन तथा मूल्याङ्कनका लागि पारदर्शी संयन्त्र स्थापना गरिने प्रतिविद्धतामा उल्लेख छ।

उनले युवा शक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा लिँदै रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनमार्फत आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए। खेलकुद, संस्कृति तथा पर्यटन प्रवर्द्धनमार्फत क्षेत्रीय पहिचानलाई उजागर गर्दै आर्थिक गतिविधि बढाउने योजना पनि समेटिएको छ।
कार्यक्रममा बोल्दै विष्टले कैलाली क्षेत्र नम्बर ४ का मतदातासँग विकास र परिवर्तनका लागि साथ दिन आग्रह गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार