रास्वपा उम्मदेवारको क्यासिनोमाथि ५ करोड ठगीको आरोप, सापटी भन्दै करोडौँ उठाएर नतिरेको दाबी

सञ्जु महर

महेन्द्रनगर । सीएमजी क्यासिनोमाथि ठगीको आरोप लागेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित उक्त क्यासिनोमाथि ५ करोड २९ लाख रुपैयाँभन्दा बढी ठगीको आरोप लागेको हो । 

अहिले सीएमजी क्यासिनोबाट ठगिएको भन्दै पीडित पक्षले पत्रकार सम्मेलन गरेरै ठगीको जानकारी दिएका छन् । उनीहरुले क्यासिनोका कर्मचारीमार्फत क्यासिनोलाई दिएको ऋण फिर्ता नपाएको दाबी गरेका छन् । पीडितका अनुसार क्यासिनोले नियमित कारोबार सञ्चालनका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट रकम सापटी लिने गरेको थियो । 

SHIKHAR COOL TECH

तर सापटी भनेर लिएको पैसा क्यासिनोले फिर्ता नगरेको बरु पैसा माग्दा अनेक बाहना बनाएर पैसा फिर्ता नगरेको पीडित पक्षले आरोप लगाएका छन् । 

आफूलाई पीडित दाबी गर्ने राजेन्द्र कुमारले आफ्नो १० लाख रुपैयाँ फिर्ता नभएको बताए । लामो समय धोबीको काम गरेका राजेन्द्रले क्लबका तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठ (हिमाल)ले आर्थिक समस्यामा परेको भन्दै सापटी पैसा मागेपछि ऋणका रुपमा १० लाख रुपैयाँ दिएको बताए । तर सो रकम नपाएको राजेन्द्रको भनाई छ । ‘व्यक्तिगत विश्वासका आधारमा सहयोग गरेको हुँ’, उनले भने, ‘तर अहिले पैसा माग्दा सञ्चालकले अटेर गरिरहेका छन् ।’

त्यस्तै क्यासिनोमा पुजारीको काम गर्दै आएका भोजराज भट्ट (पुजारी बाजे) ले ३४ लाख रुपैयाँ फिर्ता नपाएको दाबी गरे । ‘क्यासिनोले सुरुसुरुमा बेला–बेला रकम सापटी लिने र समयमै फिर्ता गर्ने गर्थ्यो । त्यही विश्वासका आधारमा तीन पटकमा गरी ३४ लाख रुपैयाँ सापटी दिएको हुँ ।’, उनले भने, ‘तर अब भने पैसाफिर्ता पाएको छैन ।’

यता क्यासिनोमा डान्स म्यानेजरको रूपमा कार्यरत नवराज श्रेष्ठले पनि ४० लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन् । उनले आठ लाख नगदसहित १७ महिनाको डान्सरहरूको तलब नपाएको बताएका छन् । सञ्चालक साहसँग पैसा माग्दा जागिर छोड्न धम्की दिने गरेको उनको आरोप छ । ठूलो रकम डुबेकाले आफूले जागिरसमेत छोड्न नसकेको उनले बताएका छन् ।

यता तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठका अनुसार सञ्चालक साहले २०८१ भदौयता नियमित हिसाब नबुझेपछि समस्या उत्पन्न भएको हो । ‘क्यासिनोमा नगद अभाव हुँदा स्थानीय व्यवसायी तथा विश्वासिला सेवाग्राहीबाट सापटी लिएर कारोबार चलाउने गरेका थियौँ । पछिल्ला १७ महिनामा सञ्चालकले मासिक हिसाब लिएनन् ।’, उनले भने, ‘उहाँकै निर्देशनमा उठाइएको रकम पठाइएको हो ।’

उनका अनुसार सापटी लिएको रकम क्यासिनोको नियमित खर्च तथा सञ्चालक साहको खातामा पठाइएको थियो ।

श्रेष्ठका अनुसार शान्ती पाण्डेयको ३९ लाख, भुन्टु कुँवरको ३० लाख, लिल गुरुङको ३४ लाख, मानवती पालको २० लाख, गणेश टेरको २० लाख, कविता जोशीको १८ लाख, राम पन्तको १५ लाख लगायत २० जनाको गरी कुल पाँच करोड २९ लाख रुपैयाँ फिर्ता गर्न बाँकी छ ।

यस विषयमा सञ्चालक साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । 

क्यासिनोको व्यवस्थापकीय टिममा कार्यरत एक कर्मचारीले साह चुनावी अभियानमा व्यस्त रहेको बताए । उनले पूर्व म्यानेजर श्रेष्ठले नै सापटी रकम हिनामिना गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । पीडितले क्यासिनोले रकम ठगी गरेको आरोप लगाइरहँदा क्यासिनोले भने पूर्व म्यानेजर श्रेष्ठले क्यासिनोका नाममा पैसा उठाएर करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै आएको छ ।

साह २०७९ मा सर्लाही–३ बाट माओवादी केन्द्रका उम्मेदवार बनेका थिए भने यस पटक उनी रास्वपाबाट उम्मेदवार बनेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार