सारांश
- दुर्गा प्रसाईंले देशमा ‘डिप स्टेट’ को जगमा नयाँ राजनीतिक शक्तिहरू उदाएको आरोप लगाए।
- उनले बालेन शाह, रवि लामिछाने र गगन थापालाई पश्चिमा शक्तिको एजेन्टको संज्ञा दिए।
- प्रसाईंले राजा ज्ञानेन्द्रलाई स्वागत गर्न फागुन १ गते एयरपोर्ट जान समर्थकहरूलाई आह्वान गरे।
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा ‘डिप स्टेट’ को जगमा नयाँ राजनीतिक शक्तिहरू उदाएको गम्भीर आरोप लगाएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौँ महानगरका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापालाई पश्चिमा शक्तिको एजेन्टको संज्ञा दिँदै देशलाई युक्रेन बनाउने खेल भइरहेको दाबी गरेका हुन् ।
उनले आगामी फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न निषेधाज्ञा तोडेर एयरपोर्ट जान समर्थकहरूलाई आह्वान समेत गरेका छन् । प्रसाईंले पत्रकार सम्मेलनमा विभिन्न भिडियो क्लिपहरू देखाउँदै नेपालमा ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी’ (एनइडी) र पश्चिमा शक्तिको नाङ्गो हस्तक्षेप भइरहेको जिकिर गरे ।
उनले नेपालका पढेलेखेका र आफूलाई एलिट वर्ग ठान्नेहरू नै यो ‘डिप स्टेट’ को मतियार बनेको आरोप लगाए । प्रसाईंले सार्वजनिक गरेको भिडियो र मन्तव्यमा बालेन शाहजस्ता पात्रहरू विदेशी फन्डिङमा परिचालित भएको र उनीहरूले नेपालमा सामाजिक सञ्जालको एल्गोरिदम कब्जा गरेर जनमतलाई भ्रमित पारिरहेको दाबी गरियो ।
प्रसाईंले सन् २०१३ र १४ देखि नै नेपालमा ‘फ्री तिब्बत’ को एजेन्डा स्थापित गर्न पश्चिमाहरूले लगानी गरिरहेको दाबी गरे छन् । उनले अहिलेका नयाँ राजनीतिक दल र पात्रहरूलाई प्रयोग गरेर नेपालको हिमाली क्षेत्रमा नयाँ दलाई लामा जन्माउने र चीन विरुद्ध नेपाललाई प्रयोग गर्ने रणनीति बनिरहेको दाबी गरे ।
उनले भने, ‘अहिलेको जेन्जी मुभमेन्ट र सिंहदरबार तथा सर्वोच्च अदालतमा आगो लगाउने घटनाहरू यही योजनाअन्तर्गत भएका हुन् । बन्द कोठाभित्र बसेर योजना बुन्ने बालेन र रविसहितका नेताहरूलाई पनि सडकमा आगो लगाउने जत्तिकै दोषी ठहर्याएर कारबाही हुनुपर्छ ।’
उनले गोविन्द केसीको अनसनदेखि विवेकशील साझाको उदयसम्म सबै पश्चिमाहरूको १३ वर्ष पुरानो गुरुयोजना भएको तर्क गरे । उनले युक्रेनमा जेलेन्स्कीलाई जसरी सामाजिक सञ्जालबाटै ‘हिरो’ बनाएर देशलाई युद्धमा धकेलियो, नेपालमा पनि त्यही मोडलमा बालेन र रविहरूलाई अघि सारिएको आरोप लगाए ।
प्रसाईंले देशको अस्तित्व जोगाउन अब राजसंस्थाको विकल्प नभएको भन्दै फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्लिन अपिल गरे । काठमाडौँ प्रशासनले तोकेको निषेधित क्षेत्रको प्रवाह नगरी घेरा तोडेर जाने चेतावनी उनले दिए ।
प्रशासन र प्रहरी प्रमुखलाई चुनौती दिँदै उनले भने, ‘राजा आउने कुरामा निषेध गर्ने को हो ? तिमीहरूसँग दम छ भने राजालाई हतकडी लगाएर देखाऊ । यदि तलमाथि गरियो भने भोलि नै निर्मल निवास घेरेर राजालाई नारायणहिटीमा लगेर गद्दीमा राख्छौँ ।’
उनले आफू पटक पटक जेल जान तयार रहेको तर देश सिध्याउने खेलको साक्षी नबस्ने बताए । उनले राजा ज्ञानेन्द्रलाई पनि अब डराएर नबस्न र जनताले बोलाइसकेकोले आँट गरेर अघि बढ्न सुझाव दिए ।
ओली–प्रचण्डलाई ‘हिन्दु राष्ट्र’ स्विकार्न आह्वान
आफ्नो मन्तव्यको क्रममा प्रसाईंले पुराना दलका नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई पनि सच्चिएर आउन आग्रह गरे । उनले भने, ‘यदि केपी ओलीले वैदिक सनातन हिन्दु राष्ट्र र राजसंस्था स्विकारेर आउँछन् भने हामी उनीहरूलाई पनि साथमा लिन तयार छौँ ।’
उनले वामपन्थीहरू राष्ट्रवादी हुने भए पनि राजाको टाउकोमा प्रहार गरेर गल्ती गरेको टिप्पणी गरे । देश अप्ठ्यारोमा परेकोले अब राजा बोक्ने, देश बोक्ने र धर्म बोक्नेहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
प्रसाईंले अहिलेको व्यवस्था र सरकारले गराउने चुनावको कुनै औचित्य नभएको बताए । उनले ९० प्रतिशत जनतालाई चुनाव नचाहिएको दाबी गर्दै यो चुनाव केवल विदेशीको इसारामा सत्ता कब्जा गर्ने प्रपञ्च मात्र भएको जिकिर गरे ।
‘यो चुनाव होइन, यो देश विदेशीको हातमा सुम्पने खेल हो । त्यसैले चुनाव हुन दिँदैनौँ,’ उनले भने । उनले आफ्नो अभियानले बैंकको ब्याजदर १६ प्रतिशतबाट ६ प्रतिशतमा झारेको दाबी गर्दै व्यापारी र सर्वसाधारणलाई आफ्नो आन्दोलनमा साथ दिन आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्