बझाङ :- आगामी निर्वाचन नजिकिँदै जाँदा बझाङमा राजनीतिक माहोल तातिँदै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शैलेश कुमार सिंह ले आफूविरुद्ध फैलाइएका विभिन्न आरोपप्रति औपचारिक धारणा सार्वजनिक गर्दै जनतालाई यथार्थ जानकारी गराएका छन्।
सिंहले आफू बझाङकै सानो गाउँमा जन्मिएर हुर्किएको व्यक्ति भएको उल्लेख गर्दै “बाहिरबाट आएको” वा “टुरिस्ट” भन्ने प्रचारलाई भ्रमपूर्ण भएको बताएका छन्। “म यही माटोमा जन्मिएको र हुर्किएको सन्तान हुँ,” उनले स्पष्ट पारेका छन्।
व्यावसायिक जीवनबारे उठाइएका प्रश्नप्रति प्रतिक्रिया दिँदै सिंहले आफ्नो सम्पत्ति मेहनत, परिश्रम र कानुनी प्रक्रिया पूरा गर्दै आर्जन गरेको दाबी गरेका छन्। “संघर्ष गर्नु अपराध होइन। राजनीति गर्न चन्दा, आतंक वा अवैध बाटो अपनाउनुपर्छ भन्ने मानसिकता गलत हो,” उनको भनाइ छ।
उनले मेगा बैंक नेपाल लिमिटेडमा कार्यरत रहँदा छोटो समयमा पदोन्नति पाएको र उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत भएको उल्लेख गरेका छन्। बैंक छोड्दासमेत आफ्नो कार्यसम्पादनबारे सकारात्मक अभिलेख रहेको दाबी गर्दै उनले आधिकारिक कागजात प्रमाणका रूपमा प्रस्तुत गर्न सकिने बताएका छन्।
त्यस्तै, बैंक छोडेपछि ट्युसन इन्स्टिच्युट सुरु गरेको भन्ने आरोप असत्य भएको उनले स्पष्ट पारेका छन्। बैंकमा कार्यरत हुनुअघि नै शैक्षिक संस्था स्थापना गरी सञ्चालनमा ल्याइसकेको उनको भनाइ छ। गरिब तथा जेहेन्दार विद्यार्थीका नाममा प्रदेश सरकारबाट ८० लाख रुपैयाँ लिएको भन्ने आरोपलाई उनले निराधार बताउँदै प्रमाणित गर्न चुनौती दिएका छन्।
विभिन्न पालिकामा फर्निचर आपूर्तिसम्बन्धी आरोपबारे सिंहले खरिद प्रक्रियामा संलग्न निकाय र व्यक्तिहरू जिम्मेवार हुनुपर्ने तर्क गरेका छन्। साथै, पोखरा विश्वविद्यालयमार्फत सञ्चालित नेपाल वेस्टर्न एकेडेमीले वार्षिक रूपमा ठूलो परिमाणमा छात्रवृत्ति प्रदान गर्दै आएको दाबी गर्दै विद्यार्थीलाई अवैध रूपमा विदेश पठाएको भन्ने आरोपको खण्डन गरेका छन्।
सिंहले चुनावी प्रतिस्पर्धामा व्यक्तिगत आक्रमण र चरित्र हत्या गर्ने प्रवृत्ति बढेको भन्दै मतदातालाई सचेत रहन आग्रह गरेका छन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भनेका छन्।
अन्त्यमा उनले आरोप–प्रत्यारोपभन्दा एजेन्डा र नीतिको राजनीतिमा बहस गर्नुपर्नेमा जोड दिँदै आगामी मतदानमार्फत जनताले सत्य–असत्यको निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्।





प्रतिक्रिया दिनुहोस्