काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अख्तियारले शक्ति र पद हुँदैमा जोकोही कानुनी जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने अझै खाँचो रहेको समेत बताएका छन् ।
राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि भएको बताए ।
बानी, व्यवहार, आचरण र अभ्यासले भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्न सके भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिने आफ्नो विश्वास रहेको उनको भनाई थियो ।
उनले अहिले जनताको अपेक्षाअनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण भएको धारणा समेत राखे ।
सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै संविधान र लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएको बताउँदै राष्ट्रपति पौडेलले संविधान र व्यवस्थाले राखेको यही अभीष्टलाई पुरा गर्न समेत युवाहरुले आवाज उठाएको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको उल्लेख गरे । c





प्रतिक्रिया दिनुहोस्