बझाङ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै छ । ठाउँठाउँमा उम्मेदवारहरु चुनावी अभियानमा होमिएका छन् । यहीबीच बझाङमा पनि चुनावी माहोल तातिँदै छ ।
नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शैलेश सिंहको सक्रियताले बझाङको चुनावी माहोललाई झनै चासोपूर्ण बनाएको छ ।
बझाङका स्थायी बासिन्दा सिंहसँग बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । आर्थिक व्यवस्थापन, संस्थागत सञ्चालन र व्यावसायिक अनुशासनमा दख्खल हासिल गरेका सिंहले पछि शिक्षा क्षेत्रमा प्रवेश गर्दै आफ्नै पहिचान बनाएका छन् । शिक्षा र उद्यमशीलतालाई जोड्दै अघि बढेका उनी सफल व्यवसायीका रूपमा समेत परिचित छन् ।
सिंहले सुदूरपश्चिमका विभिन्न जिल्लामा शिक्षा, सेवा र उद्यमसँग जोडिएका गतिविधि विस्तार गर्दै उल्लेख्य संख्यामा रोजगारी सृजना गरेका छन् ।
राजधानी केन्द्रित अवसरभन्दा बाहिर र पछाडी परेको क्षेत्रमै सम्भावना खोज्नुपर्ने धारणा राख्ने सिंह अहिले बझाङबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका छन् ।
व्यवसाय र पेशागत यात्रासँगै सिंह सामाजिक कार्यमा पनि सक्रिय छन् । सामाजिक अभियन्ताका रूपमा शिक्षा, रोजगारी, युवा सशक्तीकरण र सामाजिक उत्तरदायित्वसँग जोडिएका विभिन्न अभियानमा उनको संलग्नता रहँदै आएको छ । यही कारण उनी राजनीतिको ‘नयाँ अनुहार’ भए पनि सामाजिक क्षेत्रमा भने परिचित नाम मानिन्छन् ।
परम्परागत राजनीतिको विकल्प खोजिरहेका मतदाताबीच उनको पेशागत अनुभव, सामाजिक सक्रियता र स्थानीय मुद्दाप्रतिको बुझाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्थानीय नेताहरुका अनुसार बझाङमा विकास, रोजगारी र प्रभावकारी प्रतिनिधित्वको अपेक्षा तीव्र रहेको वर्तमान अवस्थामा सिंहको उम्मेदवारीलाई बलियो सम्भावनाका रूपमा हेरिन थालिएको छ ।





प्रतिक्रिया दिनुहोस्