पुराना दलका उम्मेदवारसँग होइन, केन्द्रीय नेतृत्वसँग रुष्ट छन् कास्की–२ का मतदाता

पोखरा । ‘यो डाँडामा पहिला एमालेबाहेक अरूको कुरै हुँदैनथ्यो, भुइँ छोड्दैनथे, तर अहिले एमालेको भोट छैन । सबै जना भोट फेर्ने मुडमा छन् । बाहिर मुखले जे भने पनि भित्री मन बदलिएको छ,’ पोखरा उपमहानगरपालिका–२१, पोखरेलथोकका कुलदत्त पोखरेलले गाउँको बेलिविस्तार लगाए ।

सोमबार दिउँसो चौतारामा घाम ताप्दै गर्दा भेटिएका उनीसहित ज्येष्ठ नागरिकहरूले उनकै आवाजलाई समर्थन जनाए । मत फेर्ने कारण एउटामात्रै छैन, अनेक छन् । ‘स्कुल गएका काखे छोराछोरीलाई ड्याङड्याङ गोली हानेर मारियो । काठमाडौँमा जो मरे पनि हाम्रै छोराछोरीजस्तै त हुन् नि,’ पोखरेलले भने, ‘त्यो कसले गर्न लगायो ? प्रधानमन्त्री को थियो ?’

SHIKHAR COOL TECH

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गर्नु पनि गलत भएको उनको तर्क छ । फिल्ड रिपोर्टिङका क्रममा भेटिएका अधिकांश स्थानीयवासी दलहरूले उठाएका उम्मेदवारबारे नभई केन्द्रीय नेतृत्वप्रति असन्तुष्ट देखिए ।

२०७९ मा सम्पन्न चुनावसम्म एमालेले गढ ठान्ने २१ नम्बर वडामा अहिले एमाले नै बिरानो हुँदै गएको देखिन्छ । उमेरले ७० नाघेका धनबल्लभ पोखरेल पनि एक छाक स्वाद फेर्ने मनसायमा छन । ‘दिनदिनै एउटै चामलको भात कति खाने ? भकारीमा अर्काे चामल छ भने एकछाक फेरेर खाए पनि भइहाल्छ नि,’ उनले भने, ‘अहिले मन बदलौँ, नयाँ चाखौँ भन्ने धेरै सुनिएको छ । भित्र पेटले दिने बेलामा त कुनमा दिन्छन् थाहा छैन, तर अहिले मुखले त जम्मैले त्यसो भन्या छन् ।’

कुलदत्त र धनबल्लभ दुवै जना अपाङ्गता भएका व्यक्ति हुन् । रेडियो र मोबाइलमा आएका समाचारहरू सुनेर उनीहरू मत बदल्ने मुडमा पुगेका हुन् ।

कतिपयले खुलेरै मत बदल्न अभियान चलाएका छन् भने कतिपयले भित्रभित्रै मत फेर्ने योजना बुनेका छन् । स्थानीयबासी मित्रलाल सुवेदी पनि लामो समय एमालेमा सक्रिय रहे । पछिल्लो समय उनी पुराना दलहरूको गतिविधिसँग सन्तुष्ट छैनन् । ‘अहिले जनताहरू परिवर्तनको पक्षमा भोट हाल्नेवाला छन् । कसैले कसैलाई फलानो व्यक्तिलाई भोट हाल भनेर मान्नेवाला कोही छैनन्,’ उनले भने, ‘पुराना पार्टीहरूको व्यवहार, काम गर्ने शैली, भ्रष्टाचार र अनैतिक व्यवहारले गर्दा जनता विरक्तिएर परिवर्तन खोजिरहेका छन् ।’

उनी पनि स्थानीय उम्मेदवार भन्दा पार्टीका केन्द्रीय नेतृत्वप्रति रुष्ट छन् । ‘नेताहरूले गरेका पुराना प्रतिबद्धता कुनै पनि पूरा नभएको र झुटा आश्वासन मात्र दिएको देखेर जनता निराश भएका हुन्,’ उनले थपे ।

यही वडाको बलमा नेकपा एमालेका उम्मेदवार दशकौँदेखि संसदीय चुनाव जित्दै आएका छन् । हरेक निर्वाचनमा यो वडाको ७० प्रतिशतभन्दा बढी मत एमालेको पक्षमा खस्छ । यही क्षेत्रबाट स्व. रविन्द्र अधिकारीले संसदमा ह्याट्रिक जित निकाले । त्यसपछिको उपचुनाव र पछिल्लो संसदीय निर्वाचनमा पनि रविन्द्रपत्नी विद्या भट्टराई यही वडाको निर्णायक मत पाएर निर्वाचित भइन् ।

हुन त अहिले पनि त्यही क्षेत्रका रश्मि आचार्यलाई एमालेले उम्मेदवार बनाएको छ । भूगोलकै उम्मेदवार भएकाले केहीले रश्मिलाई समर्थन गरेको देखिन्छ । मनकामना टोलकी ७० वर्षीय विष्णु थापाचाहिँ नयाँभन्दा पनि पहिले मत दिइरहेको दललाई भोट दिने पक्षमा छिन् ।

‘जान्ने भएदेखि एउटै पार्टीलाई भोट दिइयो । अब मर्ने बेलामा किन फेरिराख्नु ? विकास पनि नभएको होइन,’ उनले भनिन् ।

एमालेको संगठन र स्व. रविन्द्रको लिगेसीले एमाले साह्रै धेरै खुम्चिएको त छैन, तर विगतको तुलनामा उक्त पार्टीलाई मत नखस्ने स्थानीय नेताहरूकै बुझाइ छ । ‘रविन्द्र अधिकारीको जुन हाइट थियो, त्यो अहिलेका कुनै नेतामा छैन । उनी झुटो बोल्दैनथे,’ एमालेका स्थानीय नेताहरू भन्छन्, ‘अहिले त्यस्तो नेता खोजेर कहाँ पाउनु ? केन्द्रीय नेतृत्व नै खराब भएपछि तलका जनता निराश भएका छन् ।’

आफ्नो नाम नराखिदिन आग्रह गर्दै धेरैले आफूहरू मत फेर्ने पक्षमा रहेको बताए ।

एमालेमात्रै होइन, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका संगठित सदस्यहरू पनि मतको निरन्तरता रोक्न लागिरहेका छन् । ‘अहिले एउटा दलको कार्यकर्ताले पार्टीको कार्ड खल्तीमा राखेर अर्काेलाई मत दिँदैछन् । त्यो मत रास्वपामा मात्रै जाँदैन । कांग्रेसको एमाले वा नेकपामा जान पनि सक्छ । एमालेको कांग्रेस वा नेकपा र नेकपाकै मत पनि एमाले वा कांग्रेसमा जान पनि सक्छ,’ एक नेताले नाम नबताउने शर्तमा भने, ‘मैले पार्टीको सदस्यता नवीकरण नगरेको ६ वर्ष भयो, तर उनीहरूले मेरो नाम अझै हटाएका छैनन् । मान्छे देखाउनका लागिमात्रै झोलामा कार्यकर्ता बोकेर हिँडेका छन् ।’

गाउँघरमा बाँदर आतङ्क सबैभन्दा ठुलो समस्या बनेको छ । युवा पलायनका कारण खेतबारी बाँझिएका छन् । पाका पुरानाहरू मात्रै घर कुर्न बसेका छन् । पोखराबाट नजिक भए पनि खानेपानीको समस्या चर्काे छ । स्वास्थ्यचौकीहरू छन्, तर उपचारका लागि पोखरा नै झर्नुपर्छ । गाउँमै बसेर जीवन चल्ने बनाइदिन उम्मेदवारसँग उनीहरूको माग छ ।

गत निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा एमाले विजयी भएको थियो । समानुपातिकमा भने राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बन्यो । प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाएको कांग्रेसले समानुपातिकमा १० हजार ५ सय मत पाएको थियो ।

प्रत्यक्षमा निर्वाचन जितेकी विद्या भट्टराईले १६ हजार ९९८ मत ल्याउँदा रास्वपाका माधव कँडेल १२ हजार ४९५ मत सहित दोस्रो बने । कांग्रेस, माओवादी सहितको तत्कालीन गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए । समानुपातिकमा एमालेले १३ हजार ५ सय पाउँदा रास्वपाले १४ हजार मत पाएको थियो ।

अहिले एमालेकै गढबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमबहादुर थापा (किरण) प्रतिस्पर्धामा उत्रिएका छन् । उनी पनि त्यस क्षेत्रमा प्रभावशाली नेता हुन् । जसका कारण एमालेका केही मत उनले पनि थुत्न सक्ने सम्भावना देखिन्छ ।

कांग्रेसका माधवप्रसाद बाँस्तोला ‘मधु’ले विगतमा कांग्रेसले प्राप्त गरिआएको मत जोगाउँदा पनि जितका लागि पर्याप्त हुन सक्ने बताए । यद्यपि, कांग्रेसभित्र पनि विशेष महाधिवेशनपछि गुटबन्दी बढेको छ । रास्वपाबाट उम्मेदवार बनेका उत्तमप्रसाद पौडेल मतदाताको मुड हेरेर उत्साहित छन् भने एमाले विरासत जोगाउन प्रयासरत छ ।

जे होस्, कास्की–२ को नतिजा पोखरा उपमहानगरको २१ र ३३ को नतिजामा बढी केन्द्रित हुन्छ । सबै पार्टीको ध्यान सोही क्षेत्रमा केन्द्रित छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार