काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
कार्यालयले मिति २०८२ माघ २६ गते जारी गरेको सूचनामा निर्वाचन आयोगद्वारा लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्ने उल्लेख गरिएको छ ।
आयोगले यससम्बन्धी सूचना माघ १४ गते नै जारी गरिसकेको प्रशासनको भनाइ छ ।
सूचनाअनुसार माघ २७ गते जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कार्यक्रम हुने जानकारी प्राप्त भएकाले उक्त कार्यक्रमसहित निर्वाचनसँग सम्बन्धित सबै गतिविधि आचारसंहिताभित्र रही सञ्चालन गर्न प्रशासनले सचेत गराएको ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि गतिविधि नगर्न तथा नगराउन सम्बन्धित राजनीतिक दल, उम्मेदवार, समर्थक र सर्वसाधारणलाई अनुरोध गरेको छ ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा जारी गरिएको हो ।
प्रशासनले आचारसंहिता उल्लंघन भए कानुनी कारबाही हुन सक्ने संकेत पनि गरेको छ ।






प्रतिक्रिया दिनुहोस्