काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
आयोगका अनुसार समानुपातिकतर्फ ६३ वटा राजनीतिक दलहरूले बन्दसूची पेस गरेकोमा ५७ वटा निर्वाचन चिन्हमा कुल ३ हजार १ सय ३५ जना उम्मेदवारहरूको नाम अन्तिम बन्दसूचीमा कायम भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम निर्वाचन अधिकृतको कार्यालयले उक्त सूची प्रकाशन गरेको हो।
प्रकाशित अन्तिम बन्दसूचीमा पुरुषभन्दा महिला उम्मेदवारको संख्या उल्लेख्य रहेको छ। आयोगको विवरण अनुसार कुल तीन हजार १३५ उम्मेदवारमध्ये १ हजार ७ सय ७२ जना महिला रहेका छन् भने १ हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्।
अन्तिम बन्दसूचीको विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा हेर्न सकिने आयोगले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्