कञ्चनपुरः आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्थापितले मत नखसाल्ने मनसाय बनाएका छन्।
झन्डै चार सय परिवारका आठ सयभन्दा बढी निकुञ्ज विस्थापितले आंशिक मागसमेत पूरा नगरिए उम्मेदवारलाई मत नखसाल्ने बताएका हुन्। अस्थायी टहरा बनाएर महेन्द्रनगरस्थित जडीबुटीको सार्वजनिक भूमिमा बसोबास गर्दै आउनुभएका आरक्ष पीडित अस्थायी शिविर बसोबासका लागि कागज बनाइदिन आग्रह गर्दै आएका छन्।
नियमित रूपमा दलका प्रतिनिधि तथा उम्मेदवारसँघ भेटघाट गर्दै अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउन आग्रह गरिरहेको निकुञ्ज पीडित बताउँछन्। आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका संयोजक जयबहादुर रोकायाले आगामी प्रतिनिधि सभा निर्वाचनपूर्व नै आफूहरूको अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग भेटघाट गर्दै छलफल गर्दै आएको बताए।
हाल बसोबास गर्दै आएको जडीबुटीको जमिनमा खानेपानी, शौचालयलगायतका आधारभूत आवश्यकतासमेत पूर्ति गर्न समस्या भएपछि आगामी निर्वाचनपूर्व नै अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग आग्रह गरिएको उनले बताए।
कृष्णपुर नगरपालिका–१ स्थित जयशङ्कर सामुदायिक वन कञ्जकलीमा अस्थायी शिविर बसोबासका लागि प्रशासनबाट कागज बनाई माग्न अनुरोध गरेको उनले बताए। उनले भने, “विगतका आयोगले प्रस्तावित गरेका स्थानमा पुगाउनुपर्ने आफूहरूको माग हो। पुगाउन नसकेमा मत नखसाल्ने र निर्वाचन पनि बहिष्कार गर्ने मनसाय बनाएका छौँ।”
आरक्षपीडित शेरबहादुर चुनाराले निर्वाचन क्षेत्र–२ मा आफूले विगतका निर्वाचनमा मत खसाल्दै आएको बताए। विगतका झुटा आश्वासन मात्रै दिलाएका सांसदका कारण हाल कुनै व्यवस्था नमिलाइँदा यस जडीबुटीको जमिनमा कष्टकर जीवनयापन गर्नु परेको उनले गुनासो गरे। आगामी निर्वाचनमा भने आफूहरूको अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउने तथा निर्वाचित भएपछि जमिन उपलब्ध गराउने उम्मेदवारलाई मात्रै मत खसाल्ने उनले बताए।





प्रतिक्रिया दिनुहोस्