धनगढीः २०७९ को स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा क्षेत्रीय शक्तिका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) तीन वर्ष नपुग्दै चार टुक्रा भएको छ। यसवर्ष हुने प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा पार्टीको सर्वोच्च नेतृत्वमै गहिरो विभाजन देखिएको छ।
पार्टीका प्रमुख अनुहार तथा श्रीमान–श्रीमती रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठ अहिले फरक–फरक राजनीतिक धारमा छन्। नेतृत्वबीचको शक्ति संघर्ष र एक–अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिका कारण नाउपा छिन्नभिन्न बनेको हो। यही विभाजनकै बीच पार्टी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन धारबाट सहभागी हुँदैछ।
पार्टीका संरक्षक रेशमलाल चौधरीले केही नेता–कार्यकर्तालाई लिएर ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गरी चुनावी मैदानमा उत्रिएका छन्। रेशमले कैलाली-१ बाट दिएको उम्मेदवारी भने बदर भएको छ। उनको पार्टीबाट अन्य क्षेत्रमा उम्मेदवार भएका नेताले भने चुनावी प्रतिस्पर्धा गर्नेछन्। अर्कोतर्फ अध्यक्ष रञ्जिता श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग पार्टी एकीकरण गरी उम्मेदवार अघि सारेकी छन्। यसबाहेक पार्टीका केही नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र केही उज्यालो नेपाल पार्टी (उनेपा) मा पुगेका छन्।
नाउपाको आधार क्षेत्र मानिएको कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा यो विभाजन स्पष्ट देखिन्छ। उक्त क्षेत्रमा रेशमलाल चौधरीले दिएको उम्मेदवारी, बदर भएको छ भने नाउपाबाट नेकपामा गएका रामलाल डगौराथारु, रास्वपामा गएकी कोमल ज्ञवाली र उनेपाबाट प्रदीप चौधरीले प्रतिस्पर्धा गर्दैछन्।। यी चारै जना नेता २०७९ मा एकजुट भएर रञ्जिता श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य र रामलाल डगौराथारुलाई टीकापुर नगरपालिकाको नगरप्रमुखमा जित दिलाउन सफल भएका थिए।
कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका जनकराज चौधरी र नेकपा एमालेका द्वारिका प्रसाद न्यौपाने पनि उम्मेदवार रहेका छन्, जसका कारण प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित कैलालीका चार पालिका प्रमुखमध्ये रञ्जितासँगै नेकपामा गएका एक जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् भने बाँकी तीन जना खुल्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेशसभामा नाउपाबाट निर्वाचित सात जना सांसद पनि रञ्जितासँगै नेकपामा देखिएका छन्। कानुनी रूपमा पार्टी त्याग गरे पद गुम्ने भएकाले उनीहरू औपचारिक रूपमा निर्णय गर्न नसकिरहेको बताइन्छ। यद्यपि, व्यवहारमा भने पाँच जना प्रदेश सांसद रेशमलाल चौधरीको नजिक देखिएका छन्।
पार्टी गठनका बेला रहेका २१ केन्द्रीय सदस्यमध्ये धेरै पछि निष्क्रिय बने। बरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, केन्द्रीय सदस्य ठाकुरसिंह थारु, सुरेन्द्र चौधरी, कोमल ज्ञवाली र लक्ष्मण थारुजस्ता नेताहरू रास्वपामा प्रवेश गरेका छन्। संस्थापक केन्द्रीय सदस्य आलोक चौधरी र आशिन चौधरी भने रेशमको समूहमा रहेका छन्।
नागरिक उन्मुक्ति पार्टी कैलालीका एक नेताका अनुसार, ‘पार्टीका शीर्ष नेताहरू तीनतिर लागेपछि तल्ला तहका नेता–कार्यकर्ता र समर्थक अलमलमा पर्नु स्वाभाविक हो। थारुलगायत समुदायका मुद्दा छाडेर श्रीमान–श्रीमतीबीचको झगडाले पार्टी आज यो अवस्थामा पुगेको हो।’
संविधान जारी हुनुअघि थरुहट प्रदेशको मागका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई रेशमलाल चौधरी जेलमै रहेका बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। गत निर्वाचनमा नाउपाले संघमा तीन क्षेत्र, प्रदेशमा पाँच जना प्रत्यक्ष र दुई जना समानुपातिक सांसद जितेको थियो। स्थानीय तहमा पनि नाउपा कैलालीमा पहिलो पार्टी बनेको थियो। तर अहिले नेतृत्व विवादका कारण पार्टी छिन्नभिन्न भएको छ।





प्रतिक्रिया दिनुहोस्