पोखरा ।
पोखरामा जारी साफ यु १९ महिला च्याम्पियनसिपमा सोमबार २ खेल थियो । पहिलो खेल भारत र बंगलादेशबिच भयो भने दोस्रो खेल नेपाल र भुटानबिच थियो । बंगलादेशले भारतलाई २–० ले हरायो । जितसंगै बंगलादेशले फाइनलको यात्रा करिब करिब पक्का गरिसकेको छ ।
भारतको हार नेपालको लागि ठूलो अवसर बन्यो । उच्च मनोबलका साथ जारी प्रतियोगिताको सबैभन्दा कम्जोर देखिएको भुटानविरुद्ध नेपालले राम्रै नतिजा ल्याउने आँकलन गरिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप सुधारिएको खेल पस्कने अपेक्षा रह्यो । तर, नेपालले निकै कम्जोर प्रदर्शनी गर्दा फाइनल पुग्ने सम्भावनालाई अत्यन्त न्युन बनाएको छ ।
खेलको सुरुवातबाटै भुटानमाथि नेपाल हाबी भएपनि स्कोर गर्नमा पटक–पटक चुक्यो । वर्षा ओलीले कयौं पटक पाएको अवसरको सदुपयोग गर्न सकिनन् । समग्रमा नेपाल र भुटानको खेल २–१ गोलमा टुंगियो । सुरुवाती २–० को अग्रता लिएको नेपाल अग्रता जोगाउनकै लागि संघर्ष गर्नुप¥यो ।
नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले भुटानविरुद्धको खेलबाट आफु असन्तुष्टि रहेको प्रतिक्रिया दिए र खेलाडीको दोष रहेको सुनाए । उनले नेपालले ठूलो गोलअन्तरले खेल जित्नुपर्ने भएपनि खेलाडी बिच आपसी समन्वयको अभाव र मैदानमा खेलाडी विभाजित हुँदा आवश्यक स्कोर निकाल्न नसकिएको सुनाए ।
नेपालको फाइनल पुग्ने यात्राका लागि भारत र भुटानबिचको खेलसँगै बंगलादेशलाई समेत हराउनुपर्ने बाध्यता छ । तर नेपालले बंगलादेशलाई हराएर मात्रै हुँदैन भारत र भुटानबिचको खेलमा कति गोल अन्तर हुन्छ त्यसले समेत ठूलो अर्थ राख्नेछ । यी खेलहरू बुधबार हुनेछन् ।
जारी प्रतियोगितामा बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको नेपाल र भारतको ३–३ अंक रहेको छ । भुटान २ हारसहित अंकविहिनमा छ ।





प्रतिक्रिया दिनुहोस्