पक्राउ परे राम सुगारथ, सडक पेटीदेखि मन्दिरसम्म ‘माग्ने गिरोह’ चलाएको आशंका !

काठमाडौं । तपाईंहरुले बिहानको अफिस समयमा  ललितपुरबाट काठमाडौं आउँदा याद गर्नु भएको छ ? थापाथलीमा ट्राफिक जाम हुँदा वाग्मती पुलमा रोकिएका सवारी साधान चालकहरुसित बिलौना गर्दै भिक्षा रुपैयाँ मागिरहेका हुन्छन् ।

त्यो एक दिन/दुई दिन होइन । महिनौँदेखि त्यही पुलमा बसेर मागिरहेकी छन् । 

SHIKHAR COOL TECH

त्यसरी सवारी चालक तथा पैदल यात्रुसित पैसा मागेको देखिने दृश्य थापाथलीमात्रै होइन, काठमाडौंका विभिन्न सडक पेटीहरुमा देखिन्छ ।

सडकका पेटीमा माग्दै हिँड्नेहरु बालबालिकादेखि बृद्धासम्म भेटिन्छन् । 

यसरी दैनिक मागेर गुजारा गर्नेको संख्या उल्लेख्य छ । कतिपय नेपाली त कतिपय भारतीय नागरिकसमेत रहेको प्रहरीले जनाएको छ ।

सरकारका कुनै पनि आधिकारिक निकायमा उपत्यकाका सडकमा मागेर बस्नेहरुको सख्या कति छ ? यकिन तथ्यांक छैन ।  तर, कतिपय सडक पेटीहरुमा भने माग्नेहरु आफैँ नभइ गिरोहले राखेर माग्ने धन्दा नै चलाउने गरेको खुलेको छ ।

प्रहरीले माग्नेहरुलाई सडकमा परिचालन गरेर लाभ दिएको आरोपमा एकजना पक्राउ गरेसँगै यस्तो धन्दा खुलेको हो । 

प्रहरी वृत्त गौशालाको टोलीले बिहान पशुपति क्षेत्रमा पुर्‍याउने र राति आफूसँगै राख्ने सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ५० वर्षिया राम सुगारथ गोसाईलाई पक्राउ गरेको हो ।

सुगारथलाई प्रहरीले माघ ८ गते पक्राउ गरेको हो । पशुपति विकास कोषले गोसाईंले पाशुपात क्षेत्रमा अपाङ्गता भएका बालबालिका, तथा बृद्ध मानिसलाई भिक्षा माग्न लगाउने गरेको र आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका राम सुगारथले सर्लाहीकै राजकुमार साहलाई भिक्षा माग्न पठाउने गरेको खुलेको हो । 

साहले बाल्यकालमै दुवै आँखाका नानी गुमाएका थिए । सर्लाहीमै माग्दै जुगारा गरिरहेका राजकुमारलाई राम सुगारथले चार महिना अघिमात्रै काठमाडौं ल्याएर आफूसित राखेर भिक्षा माग्न पशुपति पुर्‍याउने र ल्याउने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रहरीले पक्राउ गरेका राम सुगारथले आफू २० वर्ष अघिदेखि तिलगंगा क्षेत्रमा बस्दै आएको र आफू पनि मागेर नै खाने गरेका कारण राजकुमारलाई आफूले ल्याएको बताएका छन् ।

उनले प्रहरीको बयानमा भनेका छन्,‘‘हाम्रो रितिरिवाज अनुसार हामीलाई भिक्षा दिने चलन छ । माग्ने क्रममा राजकुमारलाई भेटेर मेरो कोठामा राखेको हुँ । राजकुमारले मागेको रकम उसैको बैंक खातामा राखिदिएको छु । दाल चामल भने हामी दुवैले कोठामा खाने गरेका छौँ ।’’

आफूले राजकुमारलाई बिहान माग्नेहरुको लाइनमा राख्ने र दिउँसो कोठामा ल्याउने गरेको स्वीकार गरेका सुगारथले आफूले कुनै व्यक्तिलाई माग्न लगाउनु हुन्न भन्ने कुरा थाहा नपाएको बताएको प्रहरीले जनाएको छ ।

सर्लाही कविलासीका ३२ वर्षीय राजकुमारले भने हरेक एक हप्तामा जम्मा भएको रकमको केही भाग राम सुगारथ आफैँले लिने गरेको बताएका छन् ।

केही रकम भने आफ्नो बैंक खातामा राखिदिने गरेको प्रहरीलाई बताएका छन् । 

उनले प्रहरीको बयानमा भनेका छन्,‘‘मलाई बिहान ६ बजे नै सुगारथले पशुपतिमा पुर्‍याउँदै आएका छन् । दैनिक ७ सय देखि एक हजार रुपैयाँसम्म जम्मा हुने गरेको छ । भक्तजनहरुले चामल पनि दिनुहुन्छ । मैले जम्मा गरेको रकममध्ये केही मेरो बैंक खाता र केही सुगारथले लिने गरेका छन् ।’’

प्रहरीले पीडित राजकुमार र पशुपति क्षेत्र विकास कोषको पत्रका आधारमा सुगारथविरुद्ध भिक्षा माग्न वा माग्न लगाउन नहुने कसुरमा मुद्दा चलाएको छ ।  प्रहरीको प्रतिवेदनका आधारमा हाल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नै काठमाडौं जिल्ला अदालतमा दर्ता गराएको छ । 

प्रहरीले सुगारथ जस्तै अन्यले सडकपेटीदेखि मन्दिरसम्म भिक्षा माग्न गिरोह नै चलाएको आंशका गरेको छ ।

रत्नपार्कदेखि अन्य भिडभाड हुने क्षेत्रमा पनि केही शंकास्पद व्यक्तिहरुले बालबालिका र बृद्धाहरुलाई प्रयोग गरेर माग्ने धन्दा नै चलाएको प्रहरीले जनाएको छ ।

के हुन्छ कारवाही ?

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी सुगारथविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२६ अनुसार कारबाहीको माग राख्दै अदालतमा मुद्दा दर्ता गराएको छ ।

उक्त दफाअनुसार कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालिबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै कामको बहानामा वा अन्य प्रकारले ज्याला दिइ भिक्षा माग्न वा भिक्षा माग्न लगाउनु हुँदैन भन्ने उल्लेख छ ।

यस्तो कार्य गरेको ठहर भएमा भने कार्य गर्न लगाउने व्यक्तिलाई पहिलो पटकमा एकवर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसरी कसुरमा दोस्रो पटकमा भने तीन वर्ष वा ३० हजार वा दुवै सजाय हुने सक्ने उल्लेख गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार