धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली–५ का उम्मेदवार प्रेमबहादुर आलेले धनगढी विमानस्थललाई कुनै पनि हालतमा क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गरेरै छाड्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै आलेले यस्तो प्रतिबद्दता व्यक्त गरेका हुन् ।
‘धनगढी क्षेत्रीय विमानस्थल बनेपछि आपतकालीन अवस्थामा सिधै अन्य देशमा उडान सम्भव हुन्छ ।’, आलेले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउनेछ ।’
त्यस्तै आलेले विमानस्थलसँगै धनगढीको सेती प्रादेशिक अस्पतालको स्तरोन्नति पनि आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
सेती अस्पतालको अपेक्षित स्तरोन्नति अझै हुन सकेको छैन ।, उनले भने, यसलाई अत्याधुनिक बनाउने काममा म गम्भीर भएर लाग्नेछु ।
पूर्वमन्त्रीसमेत रहेका आलेले गेटा मेडिकल कलेजलाई कम्तीमा ५ सय शैयाको स्वीकृति दिलाई एमबीबीएस अध्ययन सञ्चालन गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । डोटीबाट लगातार तीन पटक निर्वाचन जितेको अनुभव सुनाउँदै उनले यसपटक पनि कैलाली क्षेत्र नं. ५ का जनताबाट साथ र समर्थन पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
‘मैले विगतमा बोलेका कुराहरू पूरा गरेर देखाएकै छु । म बोलेको गर्छु कि गर्दिन, त्यो बुझेर चुनावमा होमिनुहोला ।’, आलेले भने
कैलाली क्षेत्र नं. ५ मा आलेले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाउँदै लगेका छन् । निर्वाचन परिचालन सचिवालय स्थापना तथा तयारी बैठकहरू लगभग सम्पन्न भइसकेका छन् ।
डोटीबाट पटक–पटक निर्वाचन जितेका आले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली झरेका हुन्। उनले २०७० सालको संविधानसभा, २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोटीबाट विजय हासिल गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्