धनगढीः नेपालमा युवा पलायन अब आँकडाको विषय मात्र रहेन, यो राष्ट्रको विवेकमाथि उठेको प्रश्न बनेको छ। दैनिक रूपमा हजारौँ युवा अध्ययन, श्रम र भविष्यको खोजीमा देश छाडिरहेका छन्। सरकारहरू भाषणमा ‘देशमै अवसर’ को नारा दोहोर्यायइरहेकै छन्, तर यथार्थचाहिँ युवाका खुट्टा एयरपोर्टतर्फ बढिरहेकै छन्।
यही यथार्थलाई कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक धर्मराज उपाध्यायले सामाजिक सञ्जालमार्फत कठोर शब्दमा उजागर गरेका छन्। उनका शब्द व्यक्तिगत अनुभूति होइनन्, शिक्षा, श्रम र राज्य व्यवस्थाको सामूहिक असफलताको दस्तावेज हुन्।
क्याम्पस प्रमुख हुँदाका दिन सम्झँदै उपाध्यायले लेखेका छन्, ‘दिनहुँ औसत पाँच जना विद्यार्थीका विदेशी विश्वविद्यालय जानुपर्ने सिफारिस पत्रमा हस्ताक्षर गर्नुपर्थ्यो। मैले रोक्न खोजे, सम्झाए, प्रश्न गरे। तर उत्तर प्रायः उस्तै हुन्थ्यो;उता पढ्दै पैसा कमाउन सकिन्छ, यहाँ पढ्नै जग्गा बेच्नुपरेको छ।’
यी शब्दहरू केवल व्यक्तिगत निर्णयको अभिव्यक्ति होइनन्, नेपालको श्रम बजार, शिक्षण प्रणाली र अवसर संरचनामाथिको कठोर अभियोग हुन् भन्ने ठम्याइ प्राध्यापक उपाध्यायको छ। उनले लेखेका छन्, ‘विद्यार्थीहरूले नेपालमा जागिरले बाँच्न गाह्रो छ, अनुसन्धानमुखी पढाइ छैन, र सफल हुन राजनीतिक पहुँच चाहिन्छ भन्ने गुनासो गर्दै आएका छन्।’
प्राध्यापक उपाध्यायले देखेका ती अनुहारमा निराशाको कालो पर्दा थियो। त्यो पर्दा हटाउने शक्ति न राज्यसँग थियो, न शिक्षण संस्थासँग। उनले लेखेका छन्, ‘अन्ततः म दस्तखत गर्न बाध्य भए; त्यो दस्तखत केवल कागजमा होइन, राष्ट्रको भविष्य बाहिर पठाउने स्वीकृति जस्तै थियो।’
उनले युवाहरू किन विदेशिन्छन् भन्ने प्रश्नको उत्तर सात बुँदामा दिएका छन्। ती बुँदा पढ्दा लाग्छ; समस्या युवामा होइन, नीति र नियतमा छ।
नेपालमा कामको ज्याला घण्टाको आधारमा दिने प्रणाली छैन। शिक्षण संस्थाले विद्यार्थीलाई काम गर्दै पढ्ने वातावरण दिन सक्दैनन्। आर्थिक प्रशासन चुस्त छैन, कर उठ्दैन, तलबमान बढ्दैन। स्वदेशी उत्पादनप्रति सरकार उदासीन छ। विदेशी कपडामा भन्सार कसेर स्वदेशी उद्योग प्रवर्द्धन गर्ने सोचसम्म छैन। उद्योग छैन, रोजगारी छैन।
‘उता, अमेरिकी विश्वविद्यालयहरूले नेपाली विद्यार्थीलाई महिनाको दुई हजार डलरसम्म छात्रवृत्ति दिइरहेका छन्। कोरिया, जापान, खाडी मुलुक र भारतमै अदक्ष श्रमिकले नेपालभन्दा कैयौँ गुणा बढी कमाइरहेका छन्। यस्तो अवस्थामा २० हजार रुपैयाँ तलब खाएर युवा किन नेपाल बसून्?’ प्राध्यापक उपाध्यायले लेखेका छन्।
प्राध्यापक उपाध्यायको प्रश्न झन् तीखो छ, ‘सडक किनारबाट साइरनबाला गाडी हेर्नलाई बस्ने?’
यो प्रश्न कुनै व्यक्तिप्रति लक्षित छैन, यो सत्ताको संस्कृतिप्रतिको आक्रोश हो। जहाँ जनप्रतिनिधि सुविधा र विलासितामा रमाउँछन्, त्यहाँ युवाले भविष्य देख्न सक्दैनन् भन्ने ठम्याइ प्राध्यापक उपाध्यायको छ।
उनको अन्तिम चेतावनी राज्यका कर्णधारहरूका लागि हो। उनले चेतावनी दिँदै लेखेका छन्, ‘डाडुपन्यू लिएर बसेकाहरू, सक्छौ भने समाधान खोज। होइन भने गर्ने मान्छेलाई बाटो छोड।’
यो चेतावनी केवल आवेग होइन। यो समयमै नसुध्रिए देश खाली हुने संकेत हो। युवा पलायन रोक्न भाषण होइन, संरचनात्मक सुधार चाहिन्छ; काम, सम्मान र सम्भावनाको भरोसा चाहिन्छ भन्ने दाबी उनको छ।
उनले अगाडि लेखेका छन्, ‘युवालाई अवसर नदिए, आज कागजमा हस्ताक्षर गर्ने हातहरू भोलि इतिहासमा देशबाट युवालाई बिदाइ गर्ने अपराधीका रूपमा दर्ज हुनेछन्।’





प्रतिक्रिया दिनुहोस्