काठमाण्डाै – उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
४६ करोड रुपैयाँभन्दा धेरैको ‘क्लिङ्कर’ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षसमेत रहेका पौडेलसहित ८ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर जिसीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २ सय ४२ रुपैयाँ बिगो मागदाबी गरेको छ । निमित्त महाप्रबन्ध साह, उत्पादन महाशाखा प्रमुख लाल, भण्डार महाशाखा प्रमुख साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख अधिकारी र बिक्री विभाग प्रमुख जिसीविरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ बिगो मागदाबी भएको छ । यसैगरी अख्तियारले नायब महाप्रबन्धक काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रुपैयाँ बिगो मागदाबी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्