धनगढीः सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जस्तै देखिने एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ। उक्त भिडियो कैलालीको लम्की बजारमा खिचिएको हो। लम्कीकै पत्रकार रमित पाण्डेले खिचेको भिडियोमा बालेन गाडीको अगाडिको सिटमा बसेका देखिन्छन्।
सोही भिडियोको अन्त्यतिर बालेनकै जस्तो हुलिया भएका व्यक्ति देखिन्छन्। पत्रकार पाण्डेले खिचेको भिडियोमा ती व्यक्ति घण्टी बजाउँदै गाडीमाथिबाट हात हल्लाइ रहेका देखिन्छन्।
१३ माघमा कैलाली पुगेका बालेनले हालसम्म सार्वजनिक रूपमा कुनै अभिव्यक्ति दिएका छैनन्। उनी रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकलाई गाडीभित्रैबाट हात हल्लाउँदै विभिन्न स्थानतर्फ गइरहेका छन्। तीन दिनको अवधिमा सुदूरपश्चिमका सबै जिल्लाको भ्रमण गरेका बालेन आज अछामबाट कर्णाली प्रदेशका जिल्ला जाने कार्यक्रम छ।
बालेन डोटीमा रहेका बेला सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बालेनकै शैलीमा एक व्यक्तिले कारको छतबाट आधा शरीर बाहिर निकालेर घण्टी बजाउँदै हात हल्लाएको देखिन्छ। यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले ती व्यक्तिलाई ‘डमी बालेन’ भनेर टिप्पणी गर्न थाले।
तर भिडियोमा देखिएका व्यक्ति डमी बालेन नभएर कैलालीको टीकापुर-१ का २९ वर्षीय स्थानीय गोपाल कोइराला भएको पुष्टि भएको छ। अनुहारमा बालेनजस्तै दारी, कालो टोपी, चस्मा र कालो पोशाक लगाएका कारण धेरैले उनलाई बालेन नै ठानेका थिए। तर वास्तविक बालेन भने प्रहरी स्कर्टिङसहित केही मिनेटअघि मात्रै लम्की बजार पार गरिसकेका थिए र त्यहाँ केही सेकेन्ड मात्र रोकिएर अघि बढेका थिए।
टीकापुरमै व्यवासाय गर्दै आएको बताउने कोइरालाले आफूलाई ‘डमी बालेन’ भनिएको प्रति दुःख लागेको बताएका छन्। उनले चार महिना अगाडी रास्वपाको सदस्यता लिएको बताउँदै बालेनसँग अहिलेसम्म भेटसमेत नभएको बताएका छन्। ‘मानिसहरूले गलत नियतले मलाई ‘डमी बालेन’ भने तर मैलै अहिलेसम्म बालेनसँग भेट गरेको छैन। त्यो दिन पनि बालेनलाई हेर्ने भनेर म मेरै गाडीका लम्की पुगेको हुँ,’ उनले भने, ‘हामी लम्की पुग्दा बालेन हिँडिसकेका थिए। म डमी समी केही होइन विशुद्ध रास्वपा समर्थक हुँ, ‘डमी बालेन’ भन्दा दुःख लागेको छ।
कोइरालाले आफू बालेनको पहिरनबाट प्रभावित भएको बताएका छन्। उनले बालेनको समर्थक भएकाले पहिलेदेखि नै उस्तै भेषभूषामा देखिँदै आएको बताएका छन्। बालेन कैलाली आउने खबर पाएपछि स्वागत र भेटघाटका लागि लम्की पुगेको तर भेट्न नपाएको उनको भनाइ छ।
‘बालेन मन पर्ने भएकाले पहिलेदेखि नै उस्तै भेषभूषा बनाउँदै हिँडेको हुँ। स्वागतका लागि गाडीमा गएको बेला पत्रकार साथीहरूले भिडियो खिच्नुभएको रहेछ,’ कोइरालाले भने, ‘अहिले त्यसैलाई लिएर डमी बालेन भन्दै अनावश्यक विवाद खडा गरिएको छ, जुन मलाई पटक्कै मन परेको छैन।’





प्रतिक्रिया दिनुहोस्