महेन्द्रनगर: सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशका १६ निर्वाचन क्षेत्रअन्तर्गत रहेका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराई तथा पहाडी क्षेत्र गरी १६ निर्वाचन क्षेत्र रहेका छन्। तराई क्षेत्रमा कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ निर्वाचन क्षेत्र छन् भने बाँकी आठ निर्वाचन क्षेत्र सात पहाडी जिल्लामा रहेका छन्। अछाममा दुई निर्वाचन क्षेत्र छन् भने अन्य छ पहाडी जिल्लामा एक–एक निर्वाचन क्षेत्र रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
प्रदेशभर एक हजार १७६ मतदानस्थलमध्ये ३०० स्थल सामान्य, ३९५ संवेदनशील र ४८१ स्थल अतिसंवेदनशील सूचीमा परेका छन्। प्रदेशमा कूल दुई हजार १९९ मतदान केन्द्र रहेका छन्।
प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लाका मतदानस्थल अतिसंवेदनशील मानिएका छन्। कूल १०८ मतदानस्थल अतिसंवेदनशील सूचीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार अतिसंवेदनशील मतदानस्थलमा सुरक्षाको व्यवस्था थप कडा बनाइनेछ।
कञ्चनपुर जिल्लामा रहेका १३२ मतदानस्थलमध्ये ६६ स्थल अतिसंवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। त्यस्तै, सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा रहेका ७७ मतदानस्थलमध्ये ६२ स्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति तयार गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन सुरक्षा बल तथा बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ। सुदूरपश्चिममा नेपाल प्रहरी मात्रै सात हजारभन्दा बढी परिचालन हुने जनाइएको छ।
यस निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा स्वतन्त्र र राजनीतिक दलका गरी २०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।





प्रतिक्रिया दिनुहोस्